काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन जी आन्दोलनको क्रममा आफूलाई मार्ने योजना बनेको दाबी गरेका छन् ।
भक्तपुरको गुण्डुमा एमाले निकट आदिवासी जनजातिका नेता–कार्यकर्ताहरूसँग जेन नी आन्दोलनका क्रममा भदौ २४ गते भएको घटना स्मरण गर्दैै ओलीले आन्दोलनकारीहरूले आफूलाई मार्ने योजना नै बनाएको दाबी गरे ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा नेतृत्वको टोलीलाई ओलीले त्यस दिन कांग्रेस सभापति देउवालाई घाइते बनाउने र आफूलाई मार्ने योजना भएको दाबी गरे ।
आन्दोलनकारीले घर जलाइदिएपछि हाल भक्तपुरको गुन्डुमा डेरा लिई बसेका ओलीलाई लोकतान्त्रिक आदिवासी जनजाति महासंघको टोलीले शनिबार भेटेको हो ।
‘आफू त्यस दिन प्रधानमन्त्री निवासबाट ५ मिनेटमात्र ढिला भएको भए उनीहरूले मलाई सिध्याइदिन्थे’, उनले भने ।
सुरक्षाकर्मीमाथि भरोसा भएपनि हामी केही पनि गर्न सक्दैनौं भनेर मलाई बालुवाटारबाट निकालेको पनि उनले सुनाए ।
‘५ मिनेट मात्रै ढिला भएको भए मार्ने नै थिए। शेरबहादुरजीलाई घाइते बनाउने र मलाईचाहिँ मार्ने खालकै योजना थियो’, ओलीले भने, ‘मार्न खोजेका हुन् तर पाएनन्। सेक्युरिटीमाथि अलिकति मलाई भरोसा भयो, तर हामी केही पनि गर्न सक्दैनौँ भनेर अन्तिममा सेनाले भगाइ दियो’, ओलीले भने ।
ओलीले आफ्नो मनोबल कहिल्यै कमजोर नभएको भन्दै कमजोर मनोबल भएर हामी केही गर्न नसक्ने बताए । ‘ठूलो षड्यन्त्र भइराख्या छ । षड्यन्त्रबाट देशलाई जोगाउनका लागि उच्च मनोबल गर्नुपर्छ, हरेस खानु हुँदैन । एकजुट भएर अगाडि बढ्नुपर्छ’, उनले भने ।
‘एमाले हुँदाहुँदै यस्तो सिंहदरबार जलाउने, यसपल्ट त हाम्रो चाहिँ अलिकति कमजोरी भयो । यस प्रकारको हुन्छ भन्ने हामीले अलिकति यो हदसम्म देशै जलाउनेमा जान्छन् भन्ने खालको त्यस्तो लागेको थिएन तर देशद्रोही तत्वहरु, अपराधि तत्वहरु विभिन्न ठाउँ(ठाउँमा पनि पुग्या रहेछन्’, उनले भने ।
अहिले पनि फलानालाई मार्नुपर्छ, घरमा आगो लगाउनुपर्छ भनिरहेको बताउँदै ओलीले भने, ‘कस्तो वाक स्वतन्त्रता, कस्तो अधिनायकवाद हो, तानाशाही हो रु यिनले कस्तो व्यवस्था ल्याउन चाहेको ?’




प्रतिक्रिया