काठमाण्डु – जेन जी आन्दोलनपछि नकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका छ ।
भक्तपुरको गुण्डुमा शनिबार आयोजित राष्ट्रिय युवा संघको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओली उपस्थित भएका हुन् ।
कार्यक्रममा ओलीले नेपालमा विषम परिस्थिति आएको बताउँदै आफूहरूले देशको विकास र समृद्धिको कुरा गर्दा उल्टै प्रहार भएको बताए ।
एमालेको नेतृत्वमा बनेका सरकारले सधैँ राम्रा काम गरेको दाबी गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर, अनेक प्रकारका जाल गरेर झुट बोलेर यो अवस्था ल्याइएको आरोप लगाए ।
वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आगजनी र तोडफोटबाट बनेको ओलीले टिप्पणी गरे ।
‘अहिलेको जेन–जी सरकार भनिने यो सरकार संवैधानिक बाटोबाट, जनताको अभिमतबाट बनेको होइन,’ ओलीले भने, ‘यो तोडफोड र आगजनीबाट बनेको हो।’
उनले वर्तमान सरकार संवैधानिक बाटोबाट नभएर तोडफोडबाट आएको बताउँदै त्यो सरकारलाई आफूले गरेका कामको विषय बाहिर ल्याउन चुनौती दिए ।
ओलीले आफूले भ्रष्टाचार नगरेको पनि दाबी गरे । ‘म आफै प्रधानमन्त्री भएर गएको दिन म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न भन्ने नारा लगाएँ,’ ओलीले भने, ‘जुन अहिलेसम्म कायम छ, मैले आफूले पनि भ्रष्टाचार गरिनँ अरुलाई पनि सकेसम्म गर्न दिइनँ। फेरि गर्दिनँ, गर्न पनि दिन्न।’
देशभक्तिको पक्षमा बोल्नेहरूलाई झोले भन्दै ट्रेन चलाएको भन्दै उनले असन्तुष्टि जनाए । ओलीले देशभक्तिको पक्षमा बोल्नेहरुविरुद्ध भ्रमको खेती गरिएको टिप्पणी गरे।
उनले भने, ‘विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारको झूट भ्रमहरू चलाउने देशभक्तिको पक्षमा बोल्यो कि झोले भनेर ट्रेन चलाइहाल्ने प्रवृत्ति बढेको छ। भ्रमको खेती गर्नेहरू लागिरहेका छन्।’




प्रतिक्रिया