एमाले अध्यक्ष ओलीको प्रश्न : जेनजीले खोजेको प्रधानमन्त्री मभन्दा कति वर्ष कान्छो ?

एमाले अध्यक्ष ओलीको प्रश्न : जेनजीले खोजेको प्रधानमन्त्री मभन्दा कति वर्ष कान्छो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक परिस्थितिमा युवापुस्ताको भूमिकालाई प्रश्न गर्दै जेनजीले खोजेको प्रधानमन्त्री मभन्दा कति वर्ष कान्छो ? भनेर कटाक्ष गरेका छन् ।

भदौ २३ गते भएको गोलीकाण्डमा आफूले कुनै आदेश नदिएको स्पष्ट गर्दै उनले पार्टी, आन्दोलन र राज्यप्रति आफ्नो जिम्मेवारीबारे विस्तृत रूपमा बोलेका छन् ।

बुधबार आयोजित जिल्ला अध्यक्ष र नेताहरूसँगको भर्चुअल बैठकमा उनले भने, ‘भदौ २३ गते गोली चल्दा मैले कुनै आदेश दिएको थिइनँ । त्यस दिनकै साँझ म सुरक्षा निकायका प्रमुखहरू र गृहमन्त्रीसँग बसेर सोधें – किन गोली चलाइयो ? टाउको र छातीमा ताकेर किन चलाइयो ? मैले छानबिन समिति गठन गर्न निर्देशन पनि दिएको थिएँ, ताकि दोषी कारबाहीको दायरामा आऊन् ।’

पूर्वप्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जीवन सधैं बालबालिका र युवाका हकहितमा समर्पित रहेको दाबी गर्दै भने, ‘मैले सबैभन्दा धेरै माया बालबालिकालाई गरेको छु, र सबैभन्दा धेरै काम युवाका लागि गरेको छु ।’

उनले प्रतिनिधिसभा पुन:स्थापना र असंवैधानिक कदमको विरोधमा आन्दोलन गर्नुपर्ने बताए । ‘लोकतन्त्र र संविधानको रक्षा गर्न एमाले सडकमा जान तयार छ,’ उनले भने, ‘अबको आन्दोलनको उद्देश्य सत्ता कब्जा होइन, राजनीतिक प्रणालीलाई स्थिर र जिम्मेवार बनाउनु हो ।’

उनले पार्टीभित्रका असन्तुष्ट र डरका कारण पछि हटेका कार्यकर्ताप्रति पनि सन्देश दिए । ‘संकटको बेला डर र त्रासका कारण आन्दोलन छोड्न बाध्य भएकालाई पुन: स्वागत गर्छौं तर आफैं खुशीले पार्टी छाडेकाको राजीनामा स्वीकृत गर्छौं,’ उनले भने ।

संविधान निर्माणदेखि नाकाबन्दी, चुच्चे नक्सा, दैलेखको पेट्रोल खानी र नवलपरासीको फलाम खानीसम्मका विषयमा आफू सधैं राष्ट्रिय स्वाभिमानको पक्षमा दृढ अडानमा रहेको उनले बताए । ‘यिनै विषयमा दृढताका साथ आवाज उठाउँदा ममाथि विभिन्न आरोप लगाइएका हुन्,’ उनले भने ।

हालको युवापुस्तामाथि टिप्पणी गर्दै ओलीले भने, ‘जेनजीले आफ्नै उमेरकी सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको छ । अब जेनजी पार्टी अध्यक्ष चाहियो, जेनजी प्रधानमन्त्री चाहियो भन्नेहरूले अहिलेको प्रधानमन्त्री मभन्दा कति वर्ष कान्छो भनेर हेरेर बोल्नुपर्छ ।’

उनले युवालाई भावनामा होइन, विचार र जिम्मेवारीमा आधारित राजनीति गर्न पनि आग्रह गरे । बैठकको अन्त्यमा ओलीले भने, ‘कमिटीभित्र विचार र नेतृत्वका विषयमा व्यापक छलफल चलाउनुस्, तर निर्णय एकपटक भएपछि सबैले सहर्ष स्वीकार गरी कार्यान्वयनमा लाग्नुस् ।’