काठमाण्डु – जेनजी आन्दोलनपछि सत्ता गुमाएका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी अभियन्तासँग नजिकिन खोजेका छन् ।
सार्वजनिक कार्यक्रममा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आक्रामक अभिव्यक्ति दिइरहेका ओलीले भित्रभित्रै जेनजी अगुवालाई एक्लाएक्लै टेलिफोन गरेर संवाद अगाडि बढाएका छन् ।
शुक्रबार ओलीले फोन गरेर स्पष्टीकरण दिन खोजेको एक अभियन्तालाई नाम नखुलाउने शर्तमा जानकारी दिए । ‘उहाँले फोन गरेर यो तपाईंहरूले गरेको आन्दोलन होइन, स्टेट नै मेरोविरुद्ध थियो । राप्रपा, रास्वपा र माओवादी मिलेर घुसपैठ गरी प्रदर्शनलाई हिंसात्मक बनाए भन्नुभयो,’ उनले भने, ‘उहाँले जेनजीहरूको माग जायज थियो, मैले सधैं भ्रष्टाचार रोक्न खोजे, सुशासन कायम गर्न खोजेको आश्वस्त पार्न खोज्दै अख्तियारलाई पनि भ्रष्टाचारीलाई कारवाही गर भन्दा पनि सुनेन भनेर गुनासो गर्नुभयो ।’
ती जेनजी अगुवासँग लामो कुराकानी गरेका ओलीले आफू भ्रष्टाचारविरुद्ध तथा देश, सुशासन र जेनजीको पक्षमा रहेको स्पष्ट पार्न खोजेका बताइएको छ ।
जवाफमा ती जेनजी अगुवाले एमाले नेता महेश बस्नेतले जेनजीलाई आतंककारी भनेकोमा माफी माग्दै खेद व्यक्त गर्नुपर्ने शर्त राखेका छन् । ‘मैले आगामी चुनावमा हामीलाई साथ दिनुस्, तपाईंलाई सरकारसँग संवाद गर्न गाह्रो भए मध्यस्थकर्ता बनिदिन्छौं भने,’ उनले भने, ‘तपाईंको पार्टीबाट जेनजीलाई आएको धम्की रोक्न लगाउनुस् भनेर पनि मैले भनेको छु ।’
जेनजी आन्दोलनपछि राजीनामा दिएका ओली सेनाको सुरक्षा घेरामा रहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुका साथै प्रतिनिधिसभा विघटन गरेका छन् । त्यसयता सार्वजनिक कार्यक्रममा आक्रामक देखिएका ओलीले भित्रभित्रै जेनजी अगुवासँग नजिकिन खोजेको स्रोतले जनाएको छ ।




प्रतिक्रिया