निर्वाचन प्यारो नै भए पनि अपराधी र बन्दुक बाहिर राखेर चुनाव हुन सक्दैन : अध्यक्ष ओली

निर्वाचन प्यारो नै भए पनि अपराधी र बन्दुक बाहिर राखेर चुनाव हुन सक्दैन : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश बनाउन हिँडेको बताएका छन् ।

आईतबार प्रेस चौतारी नेपालले आयोजना गरेको सम्पादकसँगको छलफलमा बोल्दै ओलीले विदेशीले चलाएका कठपुतलीसँग आफू अँध्यारो मुख लगाएर नहिँड्ने बताए ।

उनले अहिलेको सरकारले आफूलाई देशभित्र हिँडडुल गर्न समेत रोक लगाउने निर्णय गरेको बताउँदै उनले यो कस्तो सरकार भन्दै प्रश्न गरे । आफूमाथि सुरक्षा चुनौती भएको बेला सरकारले आफ्नो सुरक्षा फिर्ता लिएको ओलीले बताए ।

सरकारले आफ्ना गिरोहका मानिसहरूको सुरक्षा बढाएको र आफ्नो सुरक्षा हटाएको उनको भनाइ छ । भोलि आफूलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने माग आउने भन्दै त्यो कुरा सम्पादकले नै भन्न बाध्य हुने ओलीको दाबी छ । ‘तपाईंहरूले सम्पादकीय लेखेर भन्नु हुनेछ केपी ओली फिर्ता लाउनुपर्छ, विशेष सम्पादकीय लेखेर भन्नु हुनेछ,’ उनले भने ।

ओलीले भदौ २३ गतेको घटनामा गोली चलाउने आदेश आफूले नदिएको र त्यो आदेश दिने अधिकार प्रधानमन्त्रीको नभएको बताए । आफूले दिँदै नदिएको आदेशको जिम्मा लिन नसक्ने ओलीले स्पष्ट पारे । ‘मेरै घर जलाइएको छ, मेरै बाउको घर जलाइएको छ, म जिम्मेवार हुनुपर्ने ? मेरो घर मैले नै जलाएँ त ?’ उनले प्रश्न गरे ।

जेनजी आन्दोलनका नाममा आपराधिक क्रियाकलाप भएको बताउँदै उनले त्यसविरुद्ध पत्रकारहरू समेत बोल्न नसकेको ओलीले गुनासो गरे । ‘यो नराम्रो काम भयो भनेर हाम्रो मिडियाले बोल्नुपर्छ, लेख्न सक्नुपर्छ,’ उनले भने ।

संसद् स्थापनाबाहेक अरू कुनै विकल्प नरहेको बताउँदै ओलीले त्यो विषयको सम्पादकहरूले पनि समर्थन गर्नुपर्ने बताए । आफूले संसद् विघटन गर्दा प्रतिगमन भयो भन्ने सम्पादकहरूले अहिले संसद् विघटनको समर्थन जनाउन आश्चर्यजनक भएको उनले सुनाए ।

निर्वाचनबाट छानिने कुरा आफूलाई प्यारो भए पनि अपराधी र बन्दुक बाहिर राखेर चुनाव हुन नसक्ने ओलीको भनाइ छ । एमालेले चुनाव बहिष्कार गर्न खोजेको नभई यो सरकारले चुनाव नै गराउन नसक्ने उनले दाबी गरेका छन् ।