ओली र लेखकलाई गिरफ्तार गर्नु नै सुशासन हो भन्ने सरकारले बुझेको छ : ओली

ओली र लेखकलाई गिरफ्तार गर्नु नै सुशासन हो भन्ने सरकारले बुझेको छ : ओली

'हामी चुनावबाट भाग्दैनौं, डराउँदैनौं'

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेकाहरुले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु हो भन्ने बुझेको टिप्प्णी गरेका छन् ।

भक्तपुरको गुण्डुस्थित निवासमा एमाले निकट प्रेस चौतारीका नेताहरूसँग कुरा गर्दै ओलीले विभिन्न नामका जेन जी समूह खडा गरेर सरकारले तमासा देखाएको आरोप लगाए ।

सरकारमा रहेकाहरूले नै जेन जीका नाममा ज्ञापनपत्र मस्यौदा गरेर बुझाउन लगाइरहेको उनले दाबी गरे ।

‘यो सरकारले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गर्ने भन्ने बुझेको छ । त्यसका निम्ति जेनजीहरुलाई संगठित गर्ने, जेनजीहरूका मागपत्र लेखिदिने, उनीहरूलाई बोलाएर मागपत्र पढाउने, हातमा मागपत्र थमाउने, जेनजीको डेलिगेसन बोलाउने, सञ्रकर्मीका अगाडि जेनजीले सरकारलाई दबाब दिए ल के गरौं ? भनेर सरकार एकदमै दबाबमा परेको छ र भनेर देखाउने काम भइरहेको छ’, ओलीले भने। ‘जेनजीहरूका नाममा यो कलाविहीन नाटक चलाइएको छ ।’

ओलीले जेन जीको नाममा मस्यौदा कसले लेखेको भन्ने आफूलाई थाहा भएको दाबी गरे । ‘मस्यौदा कसले लेख्यो, कहाँ बोलाएर पढाइयो, त्यसको अर्गनाइजर को हो सबै थाहा छ । बिना पैसा अहिले यी तमासा हेर्न पाइएको छ’, उनले भने ।

ओलीले प्रतिनिधिसभा अविलम्व पुनःस्थापना हुनुपर्ने भन्दै असंवैधानिक ढंगले अनधिकृत व्यक्तिको सिफारिसमा विघटन भएको पनि दाबी गरे ।

अहिले पनि जेन जी भनेर १०/२० जना युवा जम्मा पारेर धम्क्याउने र अनेक क्षति पुर्‍याउने भन्दै भन्न लगाइएको ओलीले बताए ।

उनले भने, ‘उनीहरूमा आवेश र उत्तेजनामात्र छ । गतिलो र सकारात्मक उद्देश्य र विचार छैन र गन्तव्य छैन । सरकार यस्तै काममा लागेको चुनावतिर लागेकै छैन । ड्रामातिर लागेको छ ।’

ओलीले अहिलेको आइजिपीलाई तर्साउन निवर्तमान आइजिपी चन्द्रकुबेर खापुङको पासपोर्ट रोक्का र स्थानहदको प्रचार गरिएको आरोप लगाए ।

उनले भने, ‘हिजोसम्म शान्ति सुरक्षा कायम गराउन प्रहरी प्रमुखको जिम्मेवारी लिएको छ । आज कतै पनि जान नपाउनु योभन्दा ठूलो मजाक र तमासा के हुन्छ ? सरकार के बाटो हिँड्न र कहाँ जान खोजेको ? रुल अफ ल कार्यान्वयन हुन नदिने, कानूनबमोजिम नगर्ने निर्दोषलाई थुन्नुपर्छ भन्ने ? दोषीलाई छाड्नुपर्छ भन्ने ?’

उनले आफू सत्य कुरा गर्ने र जीवनभर लडिरहने भन्दै कसैले यसलाई दम्भ भन्छ भने यो घट्नेवाला छैन, देश बनाउने उद्देश्यमा कमी आउने छैन भनी जवाफ दिए ।

ओलीले एमाले चुनावबाट नभाग्ने पनि प्रष्ट पारे ।

ओलीले भने। ‘कतिपय साथीहरूले चुनावका लागि भाग्ने हैन नेकपा एमाले भनेको सुनिन्छ यो भनिरहनुपर्छ र ? देशको सबभन्दा ठूलो सबभन्दा मजबुत पार्टी चुनावबाट भाग्दैनौं, डराउँदैनौं भनेर लुते कुरा गरिरहनुपर्छ ।’

उनले चुनाव भए चुनाव भाग लिने बताउँदै भने, ‘तर, यत्रो हतियार बाहिर, यत्रा अपराधी बाहिर । यस्तो असंवैधानिक सरकारसँग चुनाव गराउने के को हक छ ? सबैका लागि देशका लागि विघटित प्रतिनिधिसभाको तत्काल पुनःस्थापना हुनुपर्छ ।’

ओलीले एमालेले कोही कसैसँग नभाग्ने र नडराउने भन्दै महाधिवेशन पनि गर्ने र जनप्रदर्शन पनि गर्ने बताए ।