प्रतिनिधिसभा पुन:स्थापना नभएसम्म एमालेको जनप्रदर्शन रोकिँदैन : अध्यक्ष ओली

प्रतिनिधिसभा पुन:स्थापना नभएसम्म एमालेको जनप्रदर्शन रोकिँदैन : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुन:स्थापना नभएसम्म पार्टीको जनप्रदर्शन नरोकिने बताएका छन् ।

आईतबार प्रेस चौतारी नेपालसँग आबद्ध पत्रकारहरूसँग आफ्नै निवास गुण्डुमा कुराकानी गर्दै अध्यक्ष ओलीले प्रदर्शन अझ सशक्त रूपमा अघि बढ्ने बताए ।

‘हामीले जनप्रदर्शन सुरु गरेका छौं, यो रोकिनेवाला छैन, अझ बढ्दै जान्छ,’ उनले भने ।

वर्तमान सरकारले जनप्रतिनिधि वा संविधानप्रति कुनै उत्तरदायित्व नराखेको उनले बताए । अहिलेको सरकार असंवैधानिक भएको उनको दाबी छ । उनले भने, ‘यो सरकार असंवैधानिक सरकार हो, यो कसैप्रति उत्तरदायी छैन, यसलाई कसैले चिन्दैन, त्यसैले यस्तो सरकार हट्नुपर्छ ।’

प्रतिनिधिसभा पुन:स्थापनाको मागसहित सुरु गरिएको एमालेको जनप्रदर्शन नरोकिने उनले स्पष्ट पारे । ‘प्रतिनिधिसभा पुन:स्थापना नभएसम्म आन्दोलन रोकिन्न, यो अझ फैलिँदै जान्छ, रोकिनेवाला छैन,’ उनले भने ।

अध्यक्ष ओलीले एमालेले कहिल्यै चुनावबाट पछि नहट्ने स्पष्ट गर्दै अहिलेको अवैधानिक सरकारलाई चुनाव गराउने अधिकार नै नभएको दाबी गरे । उनले भने, ‘एमाले चुनावबाट भाग्दैन तर यो अवैधानिक सरकारलाई देशमा चुनाव गराउने हक छैन, त्यसैले विघटित प्रतिनिधिसभा शीघ्र पुन:स्थापित हुनुपर्छ ।’