काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतबाट संसद् पुन:स्थापनाबाहेक अन्य फैसला गर्ने बाटो नै नभएको टिप्पणी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको विघटित संसदीय दलको बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभा पुन:स्थापनाका लागि कानूनी र राजनीतिक दुवै लडाइँ लड्ने बताए ।
अदालतबाट पुन:स्थापनाबाहेक अन्य फैसला गर्ने बाटो नै नभएको उनको दाबी छ । यदि प्रतिनिधिसभा पुन:स्थापना भएन भने नेपालमा संविधान नै छैन भन्ने बुझ्नुपर्ने उनले बताए ।
वर्तमान सरकार वैधानिक र लोकतान्त्रिक दुवै विधि मिचेर बनेको सरकार भएको बताए । प्रतिनिधिसभा विघटनदेखि नयाँ सरकार निर्माणसम्मका सबै प्रक्रिया संविधानविरुद्ध, अलोकतान्त्रिक र नियोजित सत्ता कब्जाको परिणाम भएको बताए ।
उनले भने, ‘संसद् विघटन हरेक कोणबाट असंवैधानिक छ, प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक हिसाबले बाघको छालामा स्यालको रजाइँ गरिएको छ, यस्तो अराजक प्रक्रियालाई हामी स्वीकार्न सक्दैनौं ।’
अध्यक्ष ओलीका अनुसार देश अहिले ऐतिहासिक दोबाटोमा उभिएको छ । ‘एकातिर विनाश, अव्यवस्था र प्रतिक्रियावादी गठबन्धनको मार्ग छ, अर्कोतिर राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता र समृद्धिको मार्ग,’ उनले भने ।
उनले संवैधानिक संकटलाई साधारण चुनावी बहसमा रूपान्तरण गर्ने प्रयास भइरहेकोप्रति आक्रोश व्यक्त गरे । अहिलेको समस्याको निकास प्रतिनिधिसभा पुन:स्थापना नै भएको उनको धारणा छ ।
उनले भदौ २३ र २४ गतेका घटनालाई देश समृद्धितर्फ अघि बढिरहेको संवेदनशील समयमा नियोजित रूपमा अराजक क्रियाकलाप भएको बताए । ‘नेपोबेबीका नाममा बालबालिकामाथि अपराध भयो, उनीहरूलाई आतंकित बनाइयो, आन्दोलनका नाममा फेक जेन्जी प्रयोग गरियो, माइतीघरदेखि एभरेष्ट होटलसम्म प्रदर्शन गराइयो, अनि पछि उनीहरूलाई घेराबन्दीमा पारियो,’ उनको भनाइ छ ।
भदौ २४ गतेको घटना कुनै आकस्मिक घटना नभई भदौ २३ गतेकै आतंक र पूर्वतयारीको निरन्तरता भएको उनले टिप्पणी गरे । उनले वर्तमान सरकारको उत्पत्ति र आधारप्रति प्रश्न उठाउँदै भने, ‘यो वैधानिकता नभएको सरकार हो, यो सो–कल्ड सरकार हो, यो सरकार कसले बनायो ? नेपाली जनताले होइन, कसैले एकमत दिएको पनि होइन, प्रतिक्रिया र षड्यन्त्रको परिणाम मात्र हो ।’
अध्यक्ष ओलीले ‘क्रान्तिबाट सरकार बनेको’ भन्ने दाबीलाई भ्रामक बताउँदै भने, ‘नेपालमा क्रान्ति भएको छैन, प्रतिक्रान्ति भएको छ, आगजनी, लुटपाट र तोडफोडलाई उपकरण बनाएर गठन गरिएको सरकार हो यो, न यसको टिक्ने आधार छ, न कुनै आलम्ब ।’
उनले वर्तमान सरकारलाई संविधान विपरीत, जनमत विपरीत र लोकतान्त्रिक मूल्य–मान्यता विपरीत बनेको भन्दै स्पष्ट रूपमा खारेज गर्नुपर्ने आवश्यकता औंल्याए । ‘यो सरकार असंवैधानिक छ र अलोकतान्त्रिक पनि छ, यो कुरा भन्न कुनै अप्ठ्यारो मान्नुपर्ने छैन,’ उनले भने ।




प्रतिक्रिया