काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले मान्छे र पार्टी हेरेर फैसला गर्ने परिपाटी बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
एमालेको वन तथा वातावरण विभागले आयोजना गरेको वन, वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा बोल्दै उनले मधेश प्रदेश सरकारबारे सर्वोच्च अदालतले दिएको परमादेशप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले अदालतले आफ्नो र संविधानको मर्यादा राखेर फैसला गर्नुपर्ने बताए । ‘कानुन हेरेर होइन, मान्छे र पार्टी हेरेर फैसला गर्ने अदालतको समेत परिपाटी बसेको छ, संविधानले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भनेको छ, १ महिना पुग्न ४ दिन बाँकी होला, सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिनू भन्छ, म सुन्दा आश्चर्य चकित भएँ, ४ दिनपछि त १ महिना पुग्छ, ३ दिन अगाडि तान्नका लागि संविधान विपरीत आदेश दिन्छ,’ उनले भने ।
उनले एमालेको राजनीति केवल सत्ता र चुनावमा केन्द्रित नभई मानव जाति, वातावरण र समग्र इको–सिस्टमको संरक्षणमा उन्मुख रहेको बताए । वातावरण, वन, वन्यजन्तु र प्रकृतिमा निर्भर जीवजन्तुप्रति एमाले पार्टी दृढ रहेको बताए ।
‘हाम्रो पहिलो निष्ठा देशवासी र मानव जातिप्रति हो, हामी केवल चुनाव वा सरकारमा मात्र सीमित छैनौं, मानव जातिलाई आवश्यक सबै पक्षप्रति हाम्रो गम्भीर ध्यान छ,’ उनले भने ।
नेपालको भूभागको ठूलो हिस्सा वन क्षेत्रले ढाकिएको जनाउँदै ओलीले वन्यजन्तुको दीगो व्यवस्थापनका लागि क्षमताअनुसार संरक्षण नीति अघि सारिनुपर्ने विचार व्यक्त गरे । ‘हाम्रा वनले धान्ने संख्यामा मात्रै बाघ पाल्नुपर्छ, हौसिने काम गर्नु हुँदैन, हौसियो भने बाघले मान्छे गन्दैन,’ उनले भने ।
वातावरणीय असन्तुलन तथा जलवायु अन्यायको प्रसङ्ग उठाउँदै ओलीले वातावरण जोगाउने मुलुकले भोगिरहेको आर्थिक बोझ र प्रदूषण फैलाउने मुलुकहरूले पाएको फाइदा अन्यायपूर्ण रहेको टिप्पणी गरे । ‘हामी वातावरण जोगाइरहेका छौं तर गरीबी बोकेका छौं, हामीले तेल किनेर चलाउनुपर्छ, वातावरण बिगार्नेले अक्सिजन सित्तैमा पाउने यो मुलुकका लागि न्याय होइन,’ उनले भने ।
ओलीले फरक प्रसङ्गमा नेपाली जनतालाई झुक्याउनेहरूको रजगज भएको बताए । वातावरण सच्याउनका लागि सबैभन्दा पहिला राजनीतिको मुहान सच्याउनुपर्ने उनको धारणा छ । अहिले राजनीति नै फोहोर भएकोले सबैभन्दा पहिला त्यसलाई सच्याउने पर्ने ओलीले बताए । ‘हिप्पोक्रेसीको कस्तो जमाना छ, ओहो उज्यालो नेपाल, सिम्बोल पनि चिम राख्ने, फ्युज गएको चिम, कति साह्रो नेपाली जनतालाई झुक्क्याएको ?’ उनले भने ।
आगजनी, बितण्डा, राष्ट्रिय क्षतिलाई आन्दोलन भन्दै केही मानिसहरूले राज गरिरहेका ओलीले बताए । आफ्नो स्वार्थको लागि आगजनी, तोडफोड वितण्डाको महिमा गाउने काम भएको ओलीले प्रष्ट पारे । अहिलेका क्रियाकलाप लोकतन्त्रलाई मास्ने क्रियाकलाप भएको उनको धारणा छ ।
अवैध र अनधिकृत रूपमा सिफारिस गरिएको संसद् विघटनविरुद्ध बोल्न नसक्ने हो भने नेपाली डिक्सनेरीबाट सत्य भन्ने शब्द डिलिट गर्दिए हुने उनको तर्क छ ।




प्रतिक्रिया