वर्तमान सरकारलाई ‘अनाडी’ भन्दै ओलीको प्रश्न : चुनाव नलडी कताको सरकार ?

वर्तमान सरकारलाई ‘अनाडी’ भन्दै ओलीको प्रश्न : चुनाव नलडी कताको सरकार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनापछि देश प्रतिक्रान्तितर्फ अघि बढेको बताएका छन् ।

शनिबार नेकपा एमालेको ११औं महाधिवेशनको लागि नवयुग ई–बुलेटिन शुभारम्भ गर्दै ओलीले प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताए । ‘देशमा फेरि एकपटक प्रतिगमन भएको छ, यो प्रतिगमन देशका लागि दुर्भाग्य हो, यसलाई क्रान्ति भनेर महिमामण्डन गर्नु बुद्धिहीनता हो, आगजनी, तोडफोड र लुटपाट क्रान्ति हुन सक्दैन,’ उनले भने ।

अहिले विधि प्रक्रिया बिना नै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको ओलीले बताए । यो लोकतन्त्र माथिको उपहास भएको उनको दाबी छ । असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधि सभा पुन:स्थापित गर्नुपर्ने ओलीको धारणा छ ।

ओलीले अब पुराना पार्टी सकिए भन्न नसोच्न आग्रह गरे । ‘फेरि पनि आगो लगाएर सरकार बनाउने, फेरि पनि आगोकै भरमा सरकार बन्छ ? पार्टीहरूकै सरकार बन्छ,’ उनले भने ।

उनले सरकारले छानबिन गर्न भनि बनाएको आयोग अराएको काम गर्न बताएको तयारी संयन्त्र भएको बताए । आयोग जनतालाई झुक्क्याउने बुख्याचा भएको दाबी गरे । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नाविरुद्ध प्रमाण तयार गर्न चुनौती दिए ।

आफूभन्दा साढे ३ महिना कान्छी प्रधानमन्त्री कुन जेनजीको सरकार भन्दै ओलीले प्रश्न गरे । ‘जान्नु न सुन्न, चुनाव लड्नु न होर्नु, कताको सरकार ?’ उनले प्रश्न गरे ।

ओलीले अहिलेको सरकार अनाडी सरकार भएको बताउँदै सरकारले विभिन्न अनधिकृत काम गरिरहेको बताए । उनले सरकार चुनाव गराउनको लागि बनेको हो भने चुनावको वातावरण बनाउन पनि उनले चुनौती दिए । जेलका अपराधी र प्रहरीका हतियार बाहिर राखेर चुनाव हुन नसक्ने ओलीले स्पष्ट पारे । राजनीतिक दलहरूप्रति वैरभाव, अपराधी र हतियार बाहिर राखेर कुने पनि हालतमा चुनाव हुन नसक्ने उनको धारणा छ ।

सरकारलाई निर्वाचन गराउनेभन्दा पनि पुराना दल आउँछन् भन्ने डर भएको ओलीले बताए । नेकपा एमाले देश, जनता, लोकतन्त्र, सुशासन, विकास, संविधानको पक्षमा लगातार गतिशील पार्टी भएको उनले दाबी गरे । त्यसैले एमालेले आफूलाई धेरै अपडेट गर्न जरुरी रहेको उनले बताए । ‘देश र दुनियाँको ध्यान एमालेप्रति छ,’ ओलीले भने । 

देश अहिले विभाजित अवस्थामा रहेको बताउँदै ओलीले यतिबेला अत्यन्त सघन ढङ्गले एमालेका क्रियाकलाप सम्प्रेषित गर्नुपर्ने धारणा राखे । ‘सत्य सम्प्रेषण गर्ने कुरा सजिलो छैन तर त्यो नेकपा एमाले र एमालेको मुखपत्रले गर्छ,’ उनले भने ।

नेकपा एमाले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र स्वाभिमानको पहरेदार भएको उनले दाबी गरे । नेकपा एमाले लोकतन्त्रको पक्षधर र लोकतन्त्र ल्याउन त्याग, तपस्या र बलिदान गरेको शक्ति भएको बताउँदै उनले लोकतन्त्रलाई कमजोर पार्न र सिध्याउन एमालेले नदिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिकूल अवस्थामा अहिलेको संविधान बनेको बताउँदै उनले नेपाललाई जातीय आधारमा धुजा–धुजा पार्न खोज्दा जोगाएर अहिलेको संविधान ल्याइएको बताए । ‘हामी त्यसको विरुद्ध लडेका हौं, अहिलेसम्म हिंसावादी र आतंककारीलाई हामीले पराजित गर्दै आएका छौं,’ उनले भने ।

देशको बिग्रिएको अर्थतन्त्रलाई एमालेले सकारात्मक दिशामा ल्याउने काम गरेको बताउँदै उनले विश्व मञ्चमा नेपालको भूमिकालाई देखिने गरी स्थापित गर्ने काम एमालेबाट भएको बताए ।