एमाले अध्यक्ष ओलीको स्थानहद फुकुवा

एमाले अध्यक्ष ओलीको स्थानहद फुकुवा


काठमाण्डु – जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद हटाउने फुकुवा गरेको छ।

आयोगको सोमबार बसेको बैठकले ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाण्डु उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय फुकुवा गरेको हो।

आयोगले घटनाहरूको अनुसन्धानका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेका कामकारबाहीबारे सोधपुछ र आवश्यक बुझ्ने कार्य सम्पन्न गरिसकेको पनि जनाएको छ। सोधपुछको प्रक्रिया सकिएकाले उनीमाथि लगाइएको प्रतिबन्धको औचित्य समाप्त भएको ठहर गर्दै आयोगले फुकुवाको निर्णय गरेको आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिएका छन्।

ओलीले आइतबार राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका थिए । त्यस्तै उनले आइतबार नै जाँचबुझ आयोगसमक्ष पनि लिखित स्टेटमेन्ट बुझाएका थिए ।

यसअघि आयोगको २०८२ असोज १२ गतेको बैठकले अनुसन्धानको दायरामा रहेका कारण उनलाई उपत्यका छाड्न र विदेश जान रोक लगाएको थियो।