काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई दिएको बयानका बुँदाहरू सार्वजनिक भएको छ ।
एमालेका सचिव महेश बस्नेतले मंग्लबार ओलीले जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य बुँदाहरू सार्वजनिक गरेका हुन् ।
जाँचबुझ आयोगलाई ओलीले दिएको जवाफका मुख्य ६ बुँदाहरू बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
७६ जनाको ज्यान जाने गरी गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री थिए।
त्यस क्रममा भएका घटना छानबिनका लागि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियाे ।
यस्ता छन् बुँदा
–२२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा(विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको।
–आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेका।
–आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजी नभएको कुरा तत्कालीन फोटो र भिडिओहरूले प्रस्ट देखाएको।
–२३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय।
–२४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि त्यो सम्भव हुन नसकेको।
–गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यस अघि पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका।




प्रतिक्रिया