देशलाई जातजाति, भूगोल र भाषाभाषामा फुटाउने प्रयास हुँदैछ : अध्यक्ष ओली

देशलाई जातजाति, भूगोल र भाषाभाषामा फुटाउने प्रयास हुँदैछ : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशलाई जातजाति, भूगोल र भाषाभाषामा फुटाउने प्रयास भइरहेको दाबी गरेका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले नेतृत्वको सरकारले भ्रष्टाचार मुक्त देश बनाउनको लागि योजनाबद्ध रूपमा काम अघि बढाएको दाबी गरे ।

‘हामीले देशलाई जोगाएर ल्याएका छौं । सबैलाई थाहा छ, एमालेको दृष्टिकोण र अडान स्पष्ट छ । यो निरन्तर जारी रहन्छ, राष्ट्रियताको पक्षमा, सुशासन र विकासको पक्षमा,’ उनले भने ।

नेपाल लामो इतिहास बोकेको देश भएकाले अनेक उतारचढाव झेलेर अघि बढ्दै आएको उनले बताए । ‘हामी त्यति सजिलो परिस्थितिमा छैनौं, अप्ठ्यारो अवस्थामा छौं । तर लामो इतिहास भएको देशका वासिन्दा हामी अप्ठ्यारो पर्दा पनि निराश हुँदैनौं । हाम्रो इतिहास भनेको अनेक जाडो–गर्मी, उकाली–ओराली पार गर्दै आएको इतिहास हो,’ उनले भने ।

नेपाल भौगोलिक, जैविक तथा सामाजिक दृष्टिले विविधतायुक्त देश भएको उल्लेख गर्दै उनले भौगोलिक उकाली–ओरालीसँगै सामाजिक र विकासका विभिन्न चुनौतीहरू पनि नेपाली समाजले झेलेर आएको बताए ।

उनले पछिल्लो समय देश पछाडि गएको भन्ने भाष्य गलत रहेको दाबी गरे । ‘पहिले आधुनिक विज्ञान र प्रविधिले उपलब्ध गराएका सुविधा थिएनन्, सवारीसाधन पनि थिएनन् । अहिले समय परिवर्तन भएको छ । अग्रजहरूले केही गरेनन् भन्ने होइन, हामीले पनि केही गरेका छैनौं भन्ने होइन, व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएको छैन भन्ने गलत भाष्य हो,’ उनले भने ।

व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भन्ने धारणा गलत रहेको बताउँदै उनले देशमा औद्योगिकीकरण बढ्दै गएको र नयाँ नीति, विधि, तरिका तथा स्रोतहरू अपनाइएको बताए । ‘मान्छेलाई सुविधा र सहुलियत मात्रै पर्याप्त हुँदैन, उसले अझ सहज जीवन खोज्छ,’ उनले भने, ‘देश यस्तै अवस्थामा रहिरहँदैन, किनभने हामीले थुप्रै नयाँ कामहरू अघि बढाएका छौं ।’