काठमाण्डु – एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने र बालेन शाहहरूको एकतालाई अनौठो नमानेको बताएका छन् ।
पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा शनिबार बोल्दै अध्यक्ष ओलीले अहिले मुलुकमा गत भदौ २४ को विध्वंसलाई वैधता दिने कि त्यसलाई अस्वीकार गर्ने भन्नेतिर राजनीति ध्रुवीकृत भइरहेको बताए ।
एमाले लोकतन्त्र, संविधान र व्यवस्थालाई सही ट्रयाकमा ल्याउनको लागि लागिपरेको ओलीले बताए ।
तर, एमालेलगायतका लोकतान्त्रिक शक्तिलाई पन्छाउनको लागि विध्वंशका पक्षधरहरू एक ठाउँमा उभिन खोजेको भन्दै उनले रवि–बालेन एकताप्रति टिप्पणी गरे । रवि र बालेनहरूमा त्रास भएको कारण एक ठाउँमा उभिन पुगेको उनको विश्लेषण छ।
ओलीले एमाले देश बनाउने पार्टी भएकोले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको पनि बताए । तर, रवि र बालेनहरू भने देश बर्बाद पार्ने मनसायले एक ठाउँमा उभिएको उनको आरोप छ ।
ओलीले स्थापित राजनीतिक दलहरूलाई निर्वाचनमा भाग लिनै कि नदिने र घरबाट बाहिर निस्कनै नदिने दाबी गर्ने माकाफुइँलाई विफल बनाइएको जिकिर गरे ।
जेनजी आन्दोलनपछि बदनियतपूर्ण तवरले आफूमाथि लगाइएको आरोपको डटेर सामना गरेको पनि उल्लेख गर्दै उनले भने, ‘एमालेलाई कमजोर बनाउन आगामी दिनमा हुन सक्ने यस्ता खालका आक्रमणको डटेर सामना गर्नुपर्छ ।’
ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गरेकै आधारमा जिम्मेवारी बाँडफाँडमा कुनै विभेद नगरिने उल्लेख गरे । सिंगो पार्टी एक भएर निर्वाचनमा जानुपर्नेमा ओलीले जोड दिए ।
तीन दिनका लागि बोलाइएको एमालेको केन्द्रीय कमिटी बैठक शनिबार एकै दिनमा सक्ने तयारी छ । बैठकमा महाधिवेशनमा निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र दिने, पार्टीको नियमावली प्रस्तुत गर्ने तयारी छ ।




प्रतिक्रिया