भारतीय मीडियामा ओलीको दाबी- जेनजी आन्दोलन योजनाबद्ध षड्यन्त्र थियो

भारतीय मीडियामा ओलीको दाबी- जेनजी आन्दोलन योजनाबद्ध षड्यन्त्र थियो

बालेन सक्रिय राजनीतिमा आउनु सकारात्मक


काठमाण्डु – नेपालमा गत वर्ष सेप्टेम्बर ८ र ९ अर्थात् भदौ २३ र २४ गते भएकोसरकार पतन गराउने जेन जी आन्दोलन असामान्य र योजनाबद्ध रूपमा संगठित रहेको तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

जेन जी आन्दोलनका रूपमा चिनिएका हिंसात्मक झडपपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । ती झडपमा ७७ जनाको मृत्यु भएको भने २,००० भन्दा बढी घाइते भएका थिए ।

आरटी इन्डियासँगको अन्तर्वार्तामा ओलीले भने, ‘त्यो सामान्य र नियमित घटना थिएन । त्यो असामान्य थियो, र अचानक घट्न सक्ने कुरा थिएन । त्यो योजनाबद्ध ढंगले संगठित गरिएको देखिन्थ्यो ।’

जेनी पुस्तालाई अघि सारेर आन्दोलनमा अराजक तत्वहरूले घुसपैठ गरेको पनि ओलीको दाबी छ । असामाजिक तत्वहरूले संसद् भवनमा आक्रमण गरेको ओलीले दाबी गरे ।

ओलीका अनुसार श्रीलंका र बंगलादेशले त्यहाँ भएका आन्दोलनजस्ता घटनाहरू नेपालमा पनि हुनसक्ने भन्दै अग्रिम चेतावनी दिएका थिए । ‘बंगलादेश र श्रीलंकाले हामीलाई भनिरहेका थिए–नेताहरूबीच यस्ता कुरा हुनेछन् भनेर चर्चा भइरहेको थियो र अन्ततः त्यही भयो, उनले भनेका छन्, ‘यो हाम्रो लोकतन्त्रलाई पछाडि धकेल्दै फेरि गरिबीतर्फ लैजाने हमला थियो ।’

उनले आफ्नो कार्यकालमा दुबै छिमेकीसँग सम्बन्ध राम्रो रहेको र नेपालको भूमी कसैका विरुद्ध पनि प्रयोग गर्न नदिने प्रतिवद्धता कायमै राखेको उल्लेख गरे ।

‘चीनसँग राम्रो सम्बन्ध थियो । भारतसँगको सम्बन्ध पनि राम्रो थियो । मैले कुनै पनि छिमेकीविरुद्ध काम गरिँन । कसैविरुद्ध आफ्नो भूमी प्रयोग हुन नदिने हाम्रो नीति छ,’ उनले भने ।

ओली पदच्युत भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको छ र सरकारले मार्च ५ अर्थात् फागुन २१ गते निर्वाचनको मिति तोकेको छ ।

निर्वाचनको प्रसंगमा ओलीले भने, ‘वर्तमान अवस्थामा निर्वाचन गर्न अनुकूल वातावरण छैन ।’

फेरि प्रधानमन्त्री बन्नुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘नेपालमा हामी अति लोकप्रिय पार्टी हौं र म यसको नेता छु ।पछिल्ला ६० वर्षदेखि जनताका लागि काम गरिरहेको छ । आफ्नो निर्वाचन क्षेत्रमा मलाई लोकप्रिय मत दिएर जिताए । तर मुख्य कुरा, म आउँछु वा आउँदिन भन्ने होइन । मेरो देशको सार्वभौमसत्ता कायम हुनुपर्छ भन्ने हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीमा सम्मिलित भएर सक्रिय राजनीतिमा आउने बालेन शाहको निर्णयको पनि उनले स्वागत गरे ।

‘राजनीतिक पार्टी खोलेर उनी चुनावमा आएका छन् । म उनीहरूको कामको प्रशंसा गर्छु र सम्मान गर्छु । राजनीतिक पार्टीमा संलग्न भइसकेपछि जनताप्रति हुनुपर्छ । यो राम्रो कुरा हो,’ उनले भने, ‘तर प्रधानमन्त्री बन्ने कुरा हाइपोथेटिकल कुरा भयो । म त्यसमा टिप्पणी गर्न चाहन्न ।’