काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका दावेदारहरूसँग सार्वजनिक बहस गर्न आफू पूर्णरूपमा तयार रहेको प्रतिक्रिया दिएका छन् ।
भावी प्रधानमन्त्रीका दाबेदारहरूले सार्वजनिक बहस गर्नुपर्ने माग उठिरहेका बेला शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्रीका आकांक्षीहरूबिच खुला बहस हुनु आवश्यक रहेको बताए ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहसँग सार्वजनिक संवादका लागि तयार हो ? भनी सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा ओलीले तयार रहेको जवाफ दिए ।
‘वास्तवमा प्रधानमन्त्रीको क्यान्डिडेट हुँ भन्नेहरूका बिचमा संवाद कार्यक्रम राख्नु र एउटा पब्लिक डिबेट, ओपन र लाइभ गर्नु आवश्यक छ,’ अध्यक्ष ओलीले भने, ‘किन प्रधानमन्त्री हुनुपर्ने ? के गर्नलाई प्रधानमन्त्री हुनुपर्ने ? आदि कुराहरू त छलफल हुनुपर्यो नि !’
नेकपा एमालेले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । नेपाली कांग्रेसबाट सभापति गगन थापा र रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा घोषणा गरेको छ ।




प्रतिक्रिया