काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गतेको जेनजी आन्दोलनमा सरकारले गोली चलाउने आदेश नदिएको दाबी गरेका छन् ।
केही समयदेखि सामाजिक सञ्जालमा आफूविरुद्ध भइरहेका प्रचारको खण्डन गर्दै उनले संविधानले प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउने अधिकार नदिएको र आफूले त्यस्तो सोच्नसम्म नसक्ने बताए ।
ओलीका अनुसार त्यसदिन माइतीघरमा भएको जेनजी प्रदर्शन बिहानसम्म पूर्ण रूपमा शान्तिपूर्ण थियो । ‘मैले नै युवाहरू अनुशासित छन् भनेर प्रशासनलाई अनुमति दिन भनेको थिएँ, माइतीघरमा न लाठी चल्यो न गोली,’ उनले भने । तर दिउँसो १२ बजेतिर केही घुसपैठिया तत्वहरूले योजनाबद्ध रूपमा स्कूल ड्रेसमा रहेका बालबालिकालाई ढाल बनाएर निषेधित क्षेत्र संसद् भवनतर्फ डोर्याएको उनको तर्क छ ।
संसद् भवन जस्तो संवेदनशील क्षेत्रमा आगो लगाउने प्रयास र बिस्फोटक पदार्थको प्रयोग भएपछि सुरक्षाकर्मीले कानून बमोजिम प्रतिकार गरेको उनले स्पष्ट पारे । उनले भने, ‘त्यो आन्दोलन नभई राज्यविरुद्धको हमला थियो । सुरक्षाकर्मीले सरकारको आदेशमा होइन, कानूनको शपथ खाएर संसद् भवन जोगाउन बल प्रयोग गरेका हुन् ।’ यदि सुरक्षाकर्मीले हतियार खोसिन दिएको भए वा संसद् भवन जलेको भए झन् ठूलो मानवीय क्षति हुन सक्ने उनको तर्क छ ।

घटनामा ज्यान गुमाएका १९ जना युवाहरूप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले सो पीडा आफूसँगै रहेको बताए । उनले आफ्नो राजीनामापछि पनि सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालत जस्ता राष्ट्रिय धरोहरहरू जलाइएको स्मरण गराउँदै अराजकता फैलाउने समूह नै दोषी रहेको जिकिर गरे ।
ओलीले प्रश्न गरेका छन्, ‘माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद् भवनजस्तो कानूनले बल प्रयोग गर्नैपर्ने ठाउँतर्फ कसले, किन र कसरी लग्यो ? यसको जवाफ खोज्नुहोला ।’ उनले आफू यस विषयमा कुनै पनि मञ्चमा बसेर खुला बहस गर्न तयार रहेको समेत उद्घोष गरेका छन् ।




प्रतिक्रिया