ढुक्क छैनन् ओली

ढुक्क छैनन् ओली

कडा प्रतिस्पर्धाले जित निकाल्न सकस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यसपटकको निर्वाचनमा झापा–५ राष्ट्रिय बहस र चासोको केन्द्र बनेको छ । झापा–५मा ओली यसअघि २०७४ र २०७९मा लगातार दुई पटक निर्वाचन जितेका छन् । ती दुबै निर्वाचनमा उनले सहज जित निकालेका थिए भने यसपटक भने उनी दबाब महसुस गरेका छन् ।

यसपटक आफ्नै निर्वाचन क्षेत्रमा तेस्रो पटक प्रतिस्पर्धामा उत्रिएका ओलीलाई पहिलाजस्तो सहज नभएको एमाले नेताहरूको विश्लेषण छ । एमालेले ओलीलाई भावि प्रधानमन्त्रीको रूपमा अघि सारेको छ ।

अघिल्ला निर्वाचनहरूमा ओली देशभरि चुनावी सभालाई सम्बोधन गर्दै पार्टीका मुख्य प्रचारकको भूमिकामा देखिन्थे । तर यसपटक भने उनी झापा–५ मै सीमित भएका छन् । देशदौडाहा ओलीको कार्यसूचीमा परेको छैन । झापा–५बाहेक उनी कुनै पनि निर्वाचन क्षेत्रमा गएका छैनन् ।

बालेनको चुनौती

काठमाण्डु महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर बालेन शाहले झापा–५ बाट ओलीविरुद्ध उम्मेदवारी दिएका छन्।

रास्वपाका वरिष्ठ नेता पनि रहेको शाह पार्टीका तर्फबाट प्रधानमन्त्री पदका दाबेदार पनि हुन् । उम्मेदवारी दर्तापछि उनले देशभर पूर्वदेखि पश्चिमसम्म चुनावी अभियान चलाइरहेका छन् । जबकि ओली भने झापामै घरदैलो र साना कार्यक्रमहरूमा सिमित छन् ।

घरदैलो गर्दै गुनासा सुन्नु र मत माग्नु ओलीका लागि अघिल्ला चुनावहरूमा सामान्य दृश्य थिएन । प्रायः सहज जित निकाल्दै आएका उनी यसपटक आफ्नै जित सुनिश्चित गर्न पार्टी नेताहरूसँग रणनीति पनि बनाइरहेका छन् ।

बढ्दो प्रतिस्पर्धा र दबाब

स्थानीय विश्लेषकहरूका अनुसार झापा–५ मा यसपटक प्रतिस्पर्धा पहिलेभन्दा कडा छ ।

अघिल्ला चुनावमा एमालेसँग राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी तालमेल थियो । तर यसपटक दुबै पार्टी एक्लाएक्लै प्रतिस्पर्धामा छन्, जसले समीकरण जटिल बनाएको छ ।

ओलीले २०४८ को चुनावबाट झापाबाट संसदीय राजनीति सुरु गरेका हुन् । २०४८पछि भएका सात वटा निर्वाचनमध्ये ६ वटा उनले झापाबाटै जितेका छन् । तर २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने पराजित भएका थिए ।

२०७०को दोस्रो संविधानसभा निर्वाचनपछि ओलीले झापा–५मा सहज जित निकाल्दै आएका छन् । तर यसपटक, बदलिँदो परिस्थिति र बालेनको चुनौतीले उनीमाथि दबाब छ ।

एमालेको झापा–५ निर्वाचन क्षेत्र समितिले ३५ बुँदे अपिल जारी गरी देशको सार्वभौमिकता जोगाउन, लोकतन्त्र सुदृढ गर्न र बाह्य हस्तक्षेप रोक्न ओलीको जित आवश्यक रहेको भन्दै अपिल गरेको छ । त्यसपछि मंगलबार ओलीले पनि आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।

गत भदौमा भएको जेन जी आन्दोलनपछि ओलीको छवि धुमिल भएको विश्लेषण गरिन्छ । आन्दोलनका क्रममा ७७ जनाको ज्यान गएको थियो । त्यतिबेला एमाले–कांग्रेस गठबन्धन सरकारको नेतृत्व ओलीले नै गरेका थिए ।

राजनीतिक विश्लेषकहरूका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रभाव, नयाँ अनुहारप्रतिको आकर्षण र जेन जी पुस्ताको सक्रियताले स्थापित नेताहरूमाथि कडा परीक्षण सुरु गरेको छ ।

बालेनलाई उक्त आन्दोलनको अनौपचारिक नेताका रूपमा हेरिने हुँदा झापा–५ को प्रतिस्पर्धालाई कतिपयले ‘यथास्थितिवाद विरुद्ध परिवर्तन’को लडाइँका रूपमा पनि व्याख्या गरेका छन् ।

एमाले नेताहरू भने ओलीको जितप्रति विश्वस्त रहेको दाबी गर्छन् । कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता हिक्मत कार्कीका अनुसार चुनावी अभियान औपचारिक रूपमा सुरु भएकाले अब ओली अन्य क्षेत्रमा पनि प्रचारका लागि जानेछन् ।

एमालेका नेताहरूले ओलीको दीर्घ राजनीतिक अनुभव, संगठन सञ्जाल र पूर्वाधार विकासका उपलब्धिहरूलाई प्रमुख बलका रूपमा प्रस्तुत गरेका छन् ।

झापा–५ मा देखिएको तीव्र घरदैलो, साना कार्यक्रम र संगठनात्मक सक्रियताले यसपटकको प्रतिस्पर्धा सहज नहुने संकेत गर्छ ।ओली देशव्यापी प्रचारभन्दा आफ्नै क्षेत्रमा केन्द्रित हुनु यो रणनीतिक छनोट हो वा दबाबको परिणाम भन्ने प्रश्न अझै स्पष्ट भएको छैन ।

बदलिएको परिस्थितिमा ओली झापामा जसरी केन्द्रित छन्, यसले उनी निर्वाचनमा निकै ठुलो दबाबमा छन् भन्ने देखाएको छ ।ओली आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुनुमा मुख्यत: जेन–जी विद्रोह र बालेन उनकै क्षेत्रमा आउनुलाई मानिएको छ ।

तर एउटा कुरा के स्पष्ट देखिन्छ भने झापा-५ अहिले राष्ट्रिय राजनीतिका लागि सबैभन्दा रोचक र निर्णायक निर्वाचन क्षेत्रमध्ये एक बनेको छ ।