झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन लक्षित गर्दै पार्टीका उम्मेदवार र नेता–कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन नजिकिँदै जाँदा पार्टीका मूल एजेन्डा स्पष्ट रूपमा जनतासम्म पुर्याउन सक्रिय हुन आग्रह गरेका हुन् ।
काठमाण्डु फर्किने क्रममा बिर्तामोडस्थित होटल हेभनमा आयोजित छलफलमा अध्यक्ष ओलीले जनस्तरमा फैलिएका भ्रम चिर्न घरघर पुगेर प्रत्यक्ष संवाद गर्नुपर्नेमा जोड दिए ।
छलफलमा सहभागी झापा क्षेत्र नम्बर ४ निर्वाचन परिचालन कमिटीका संयोजक मनोज ताम्लीका अनुसार अध्यक्ष ओलीले परिणाममुखी ढंगले निर्वाचनमा खटिन निर्देशन दिए । ‘सबै नेता–कार्यकर्ता परिणाम निकाल्ने गरी अभियानमा लाग्नुपर्छ,’ ओलीको भनाइ उदृत गर्दै ताम्लीले भने । जनस्तरमा रहेका भ्रम हटाउन जनताको घरदैलोमै पुग्न उनको विशेष निर्देशन छ ।
बैठकमा झापा जिल्लाका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवार तथा निर्वाचन परिचालन कमिटीका संयोजकहरूको सहभागिता थियो । सहभागीहरूले निर्वाचन तयारी र अभियानको प्रगतिबारे अध्यक्ष ओलीलाई जानकारी गराएका थिए ।
उम्मेदवारहरूले सामाजिक सञ्जालमा देखिएजस्तो अन्य दलको पक्षमा जनमत नरहेको दाबी गर्दै प्रत्यक्ष भेटघाट र चुनावी कार्यक्रममा मतदाताबाट एमालेप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताएका छन् ।




प्रतिक्रिया