रास्वपा चुनाव भाँड्ने प्रयासमा देखियो : ओली

रास्वपा चुनाव भाँड्ने प्रयासमा देखियो : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव जितिँदैन भन्ने निष्कर्षमा पुगेको टिप्पणी गरेका छन् ।

चुनाव जितिदैन भन्ने रास्वपाको निष्कर्षले चुनावै भाँड्ने प्रयासमा रहेको आरोप ओलीले लगाएका छन् ।

आफ्नो चुनावी क्षेत्र झापा जाने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग शनिबार कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले रास्वपा आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव हुन दिने नभए भाँड्ने पक्षमा देखिएको आरोप लगाए ।

आफूले केहि दिनयताका घटनाहरू हेर्दा रास्वपाले चुनाव भाँड्न खोजेको देखिएको उनको दाबी छ ।

निर्वाचन बलजफती गर्ने कुरा नभएको बताउँदै अध्यक्ष ओलीले चुनाव ऐन, कानुनभित्र रहेर स्वच्छ र स्वस्थ प्रतिष्पर्धासहित शान्तिपूर्ण वातावरणमा निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताए । उनले मतदाताले भयरहित वातावरणमा गएर आफ्नो स्वेच्छाको मत निर्वाध दिन पाउनु पर्ने बताए ।

अध्यक्ष ओलीले निर्वाचनको प्रक्रिया र परिणाम पारदर्शी, निष्पक्ष र शान्तिपूर्ण हुनुपर्ने बताउँदै भने ‘तर, अहिले निर्वाचनको वातावरण शान्तिपूर्ण भइरहेको छैन, शान्ति भड्काउन खोज्ने प्रयासहरु भइरहेका छन् । सबै क्षेत्रबाट चिन्ता जाहेर भएको पनि देखियो ।’

द्वन्द्वका कारणहरु पहिला समाधान गरेर निर्वाचनमा जाऊ भन्ने कुराहरु पनि देखिएको उनको भनाइ छ । त्यसका विभिन्न पक्षहरु हुनसक्ने बताउँदै अध्यक्ष ओलीले त्यसको निराकणको उपाय पनि हुने बताए ।

राजनीतिक दलहरुले जिम्मेवारीवोध नगर्दा नेपालमा एउटा अप्रिय घटना भएको बताउँदै उनले भदौ २३–२४ गते नहुनु पर्ने मानिसको ज्यान जाने, देशमा आगजनी लुटपाट, तोडफोड र भयानक हिंसा, सार्वजनिक सम्पतिदेखि लिएर राज्का प्रमुख अंगहरुका कार्यालयहरु ध्वस्त गर्नेदेखि लिएर औद्योगिक क्षेत्र, राजनीतिक दलका कार्यालय, राजनीतिक दलका नेता कार्यकर्ताका सम्पतिहरु जलाउने काम भएको बताए ।

उनले यो अत्यन्तै आपराधिक मनोवृतिको थालनी नेपाली समाजमा भएको बताए ।

ओलीले संसद् विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले निर्वाचनपछि साधारण तारेख राख्नु व्यावहारिक रूपमा अर्थहीन भएको पनि टिप्पणी गरे ।

सर्वोच्चले यत्रो ठूलो संवैधानिक प्रश्नमा समयमै फैसला गर्नुपर्ने भएपनि नगरेको भन्दै उनले असन्तुष्टि जनाए।

उनले भने, ‘अब सर्वोच्च अदालत यत्रो संवैधानिक प्रश्नमा अल्झिएको छ, यो जटिलतामा फसेको बेला सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनुपर्दथ्यो। निर्वाचनपछि साधारण तारेख यस मुद्दा सम्बन्धी साधारण तारेख व्यावहारिक रूपमा अर्थहीन छ, प्रयोजनहीन छ। सैद्धान्तिक रूपमा भोलिका लागि सिद्धान्त प्रतिपादन होला, एउटा नजिर त बस्ला, जे बस्ला। तर न्याय अर्थपूर्ण हुनुपर्दछ।’

उनले निर्वाचनपछि सर्वोच्चको फैसला म्याद गुज्रिएको औषधिजस्तो हुने टिप्पणी गरे।