निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन : ओली

निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाएका छन् ।

कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने भन्दै ओलीले निष्पक्ष नभएको खण्डमा र राज्य संयन्त्रको दुरुपयोग गरी नतिजा प्रभावित पार्न खोजिए लोकतान्त्रिक शक्तिहरूले त्यसको परिणामलाई मान्यता नदिने बताए ।

शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’कार्यक्रममा अध्यक्ष ओलीले देशमा आई परेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको बताए ।

मुलुकको सार्वभौम संसदलाई ध्वंसको माध्यमबाट बललफ्ती विघटन गरिए पछि देश संकटतर्फ धकेलिएको उनको भनाइ छ ।
उनले एमाले चुनावबाट न भाग्ने भएकाले देशैभरि पार्टी चुनावमा केन्द्रित भएको उल्लेख गर्दै आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने र देशमा आई परेका समस्याहरूको समाधान निकाल्ने बताए ।

ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने समेत बताए । चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको समेत उनको भनाइ छ ।

कार्यक्रममा उनले युवाहरूलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरू चिर्ने काममा लाग्न आग्रह गरे ।

कार्यक्रममा युवा विद्यार्थीहरूले अध्यक्ष ओलीसमक्ष विभिन्न जिज्ञासा राखेका थिए । उनीहरूको जिज्ञासा सम्बोधन गर्दै ओलीले कुनै पनि पार्टीले कस्तो भूमिका निर्वाह गर्छ र के गर्छ भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेन्डाले निर्धारण गर्ने भन्दै एमालेका कार्यक्रम र सिद्धान्तहरू जनतासम्म पु¥याउन सुझाव पनि दिए ।