काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वका विभिन्न देशहरूमा विकसित पछिल्लो सुरक्षा चुनौती र तनावपूर्ण अवस्थाका कारण लाखौँ नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुरक्षालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
इजरायल र इरानबिचको बढ्दो सैन्य तनाव तथा त्यसको प्रभाव यूएई, कतार र कुवेत लगायतका क्षेत्रमा देखिन थालेपछि नेपाली नागरिकहरूलाई विशेष सजग रहन अध्यक्ष ओलीले आग्रह गरेका हुन् ।
मध्यपूर्वमा रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा निकायले जारी गरेका निर्देशनहरू पालना गर्न, अनावश्यक रूपमा बाहिर ननिस्कन र आफ्नो अवस्थाबारे परिवार तथा दूतावासलाई जानकारी गराइराख्न अपिल गरिएको छ ।
ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मध्यपूर्वमा पछिल्लोपटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ । यूएई, इजरायल, इरान लगायत मध्यपूर्वी देशहरूमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु ।’




प्रतिक्रिया