काठमाण्डु- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको स्वीकार गर्दै जनताको निर्णयलाई सम्मान गर्ने बताएका छन्।
झापा–५बाट चुनाव लडेका ओली रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग पराजित भएका हुन् । चुनाव हारेपछि बिहीबार पहिलोपटक प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले यस पटकको निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकिएको बताएका हुन् ।
चुनावको सम्पूर्ण परिणाम आइसकेपछि उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।’
ओलीले सूर्य चिन्हमा मतदान गरी साथ दिने मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक तथा समर्थकहरूलाई धन्यवाद व्यक्त गरेका छन्।
‘यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो, तपाईंहरूको साथ नै हाम्रो ताकत हो,’ उनले भनेका छन्।
उनले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने स्पष्ट पारेका छन् ।
‘निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन,’ ओलीको भनाइ छ, ‘हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।’





प्रतिक्रिया