काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । उनलाई झोल खानेकुरा खुवाएसँगै हिँडडुल गराउने थालिएको हो ।
अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गर्दै आजदेखि प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालिएको बताएको छ । उनको भिटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीसँग प्रत्यक्षरुपमा भेटघाट गर्न कसैलाई पनि दिइएको छैन । अङ्ग प्रत्यारोपण गरेका व्यक्तिमा छिटो सङ्क्रमण बढ्न सक्ने जनाउँदै भेट गर्न रोक लगाइएको प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
‘प्रत्यारोपणमा संलग्न र ‘क्रिटिकल केयर’का चिकित्सक तथा नर्सबाहेक अन्यलाई भेटघाट गर्न दिइएको छैन’, प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘उहाँले परिवारिक रुपमा पनि अझै भेटघाट गरिरहनुभएको छैन ।’
प्रधानमन्त्रीलाई सात दिनभित्र अस्पतालबाट फर्काइने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले जानकारी दिए । प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे नियमित जानकारी दिइने प्रेस सल्लाहकार थापाले बताए ।
प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिन आजै अपराह्न गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललगायत शिक्षण अस्पताल पुगेका थिए ।





प्रतिक्रिया