केपी ओली र नारायणकाजीबीच शिक्षण अस्पतालको क्याबिनमा ४५ मिनेट गोप्य भेट, वाम शक्ति मिल्नुपर्ने निस्कर्ष

केपी ओली र नारायणकाजीबीच शिक्षण अस्पतालको क्याबिनमा ४५ मिनेट गोप्य भेट, वाम शक्ति मिल्नुपर्ने निस्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् ।

ओली उपचाररत त्रिवि शिक्षण अस्पताल पुगेर श्रेष्ठले शनिबार साँझ ओलीलाई भेटेका हुन् । अस्पतालको क्याबिनमा दुई नेताबीच करिब ४५ मिनेट एक्ला एक्लै कुराकानी भएको एमालेका एक पदाधिकारीले जानकारी दिए ।

श्रेष्ठ ओलीलाई राखिएको क्याबिनमा पुगेपछि त्यहाँ रहेका एमाले नेता एवं ओली प्रधानमन्त्री हुँदाका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायत नेता कार्यकर्ता बाहिर निस्किएका थिए । ओलीले श्रेष्ठसँग एक्लै कुरा गर्न चाहेपछि आफूहरु बाहिरिएको ती नेताले बताए ।

‘अध्यक्षको स्वास्थ्य अवस्था बुझ्न भनेर नारायणकाजी कमरेड अस्पताल आउनुभएको थियो । उहाँ आएपछि हामी बाहिर निस्क्यौं’, ती नेताले काठमाण्डुपाटीसँग भने, ‘४५ मिनेट एक्लाएक्लै कुरा भएपछि उहाँ (श्रेष्ठ) निस्किनुभयो ।’

श्रोतका अनुसार कम्युनिष्ट सिध्याउन स्वदेश र विदेशका शक्ति अन्तिम बलसहित लागेको भन्दै ओलीले त्यसलाई परास्त गर्ने रणनीतिबारे गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको बताएका थिए । ओलीको भनाइमा सहम हुँदै श्रेष्ठले वामपन्थी पार्टीहरूबीच ध्रुवीकरणको विकल्प नरहेकोमा जोड दिएका थिए । अर्का एक एमाले नेताका अनुसार उनीहरूबीच संवादलाई निरन्तरता दिने सहमतिसमेत भएको छ ।

बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएको भोलिपल्ट १४ चैतमा जेन–जी आन्दोलनका क्रममा मारिएकाहरुको हत्यामा संलग्न रहेको अभियोगमा गुण्डुस्थित निवासबाट पक्राउ परेका ओली स्वास्थ्यमा समस्या देखिएपछि सोही दिन शिक्षण अस्पताल भर्ना भएका थिए ।

पत्नी राधिका शाक्यले गैरकानुनी रुपमा पक्राउ गरी गैरन्यायिक हिरासतमा राखिएको भन्दै दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले २३ चैतमा २६ चैतभित्र अनुसन्धान सकेर मुद्दा दर्ता गर्न वा रिहा गर्न आदेश दियो । प्रहरीले २६ चैतमा राधिकाको जिम्मा लगाएर ओलीलाई छाडेको थियो ।