काठमाण्डु – एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले धक्का खाए पनि समाप्त नभएको जिकिर गरेका छन् ।
पार्टीलाई अझै पनि राजनीतिक रूपमा एक्ल्याउने प्रयास भइरहेको दाबी गर्दै पूर्वप्रधानमन्त्री पनि रहेका ओलीले एमाले आफ्नै बलमा चुनौती सामना गर्ने बताए ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार एमालेको वेबसाइट तथा मोबाइल एपको परिमार्जित संस्करण सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले एमाले पार्टी आफ्नै बलमा पुनः नवीकृत हुँदै अघि बढ्ने र एमाले कुनै पनि राजनीतिक शक्तिको सहारामा उभिनुपर्ने अवस्था नरहेको बताए।
‘हामीलाई एक्ल्याउने प्रयास निरन्तर भइरहेका छन्। तर एमाले स्वतन्त्र हैसियत भएको पार्टी हो। हामी आँधी, हुरी, तुफान र बाढीजस्ता चुनौती पार गर्दै यहाँसम्म आइपुगेका हौं र अब पनि आफ्नै बलमा अघि बढ्छौं,’ ओलीले भने।
अनुकूल परिस्थितिमा मात्र उत्साहित हुने र प्रतिकूल अवस्थामा निराश हुने पार्टी एमाले नभएको उल्लेख गर्दै उनले सबै चुनौती पराजित गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे।
उनले भने, ‘एमाले परिस्थिति देखेर आत्तिने वा मातिने पार्टी होइन। अनुकूलता आयो भने मात्रै हौसिने र प्रतिकूलता आयो भने निराश हुने हाम्रो स्वभाव छैन। हामीले हरेक चुनौतीको सामना गरेका छौँ, जितेका छौँ र अब पनि त्यसरी नै अघि बढ्छौँ।’
ओलीले एमालेको राजनीतिक परम्परा नै कठिनाइसँग जुध्ने, पुनः उठ्ने र पुनर्जागरण गर्ने रहेको बताउँदै सबै चुनौती पार गर्ने सामर्थ्य पार्टीसँग रहेको दाबी गरे। सरकारको आलोचना गर्दै ओलीले वर्तमान सरकारले जनतालाई त्रासमा राखेर तानाशाही शैलीमा अघि बढेको आरोप लगाए ।
‘शान्तिपूर्ण ढंगले विरोध जनाउन पनि नपाउने । यस्तो तानाशाशी भन्दा बढी तनाशाही फासिजमको तरिकामा अहिलेको सरकार छ’, ओलीले भने ।
उनले मिडियाका गेट अगाडि गाडी पार्किङ गरिएको घटनाबारे सरकारबाटै उक्त कार्य गराइएको आरोप लगाए ।
‘अर्काको घरको अगाडि, कार्यालय अगाडि, सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गर्छ । ती गाडी सकुशल फकाइन्छन्, कुनै कारबाही हुँदैन । किनभने निर्देशित ढंगबाट ती काम सरकारले लगाएको छ, अनि कसरी कारबाही हुन्छ ?,’ ओलीले भने ।
महासचिव पोखरेलले पछिल्लो समय समाजमा लोकप्रियतावाद र अवसरवाद हाबी हुँदै गएको तथा सूचना प्रविधिको दुरुपयोगमार्फत गलत भाष्य निर्माण गर्ने प्रवृत्ति बढेको बताए। कृत्रिम बौद्धिकता (एआई) र एल्गोरिदमको प्रयोगबाट गलत सूचनालाई स्थापित गर्ने प्रयास भइरहेको उनले उल्लेख गरे।
पोखरेलले नयाँ पुस्तालाई सही वैचारिक तथा राजनीतिक धारसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै प्रविधिको सकारात्मक प्रयोगमार्फत पार्टीका नीति, विचार र दृष्टिकोण प्रभावकारी रूपमा जनतासम्म पुर्याउन एमालेले आफ्नो वेबसाइट र डिजिटल प्लेटफर्मलाई परिष्कृत गरेको जानकारी दिए।




प्रतिक्रिया