काठमाण्डु–एमाले अध्यक्ष केपी ओलीले बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार बनेपछि विदेशिने युवाको संख्या पहिलाभन्दा बढेको दाबी गरेका छन् ।
आइतबार मुख्यालय च्यासलमा पार्टीका सांसदहरुका लागि आयोजित प्रशिक्षण कार्यत्रममा ओलीले पहिलाको तुलनामा अहिले विदेश जानेको संख्या बढेको बताए ।
देशमा रोजगारीको अवसर नदिएर नेपालीलाई विदेश जान बाध्य पारिएको भनेर हल्ला गर्नेहरु सरकारमा हुँदा विदेशिनेको संख्या बढे पनि सबै चुपचाप रहेको ओलीको टिप्पणी थियो ।
‘विदेश मान्छे पठाइए, विदेश गए भनेर पोहोर यतिबेला खपिनसक्नुको उधुम हल्ला थियो’, ओलीले भने, ‘पोहोर साल यतिबेला भन्दा अहिले यतिबेला संख्या बढी गएको छ बाहिर, चुपचाप छ ।’
ओलीले सत्तारुढ रास्वपाले अहिले विदेश जानु युवाको अधिकार हो भन्ने व्याख्या गरिरहेको आरोप लगाए । ओलीले रास्वपा आफ्नो संकीर्ण स्वार्थका लागि जनताको अहितमा तर्क गर्ने समूह भएको टिप्पणी गरे ।
‘विदेश जाने कुरा पोहोर स्वाभाविक थिएन, अहिले स्वाभाविक । कुरो र कुलो जता पनि जान्छ भनेजस्तै उनीहरूले कुरा बङ्ग्याउँछन्’, ओलीले भने, ‘जनताको हितविपरीत र आफ्नो संकीर्ण हितका लागि प्रयोग गर्छन् ।’
ओलीले संसदलाई भ्रमपूर्ण कुरा सच्याउने र सही विषय जनतामा लैजाने थलोका रुपमा उपयोग गर्न सांसदहरुलाई निर्देशन दिए ।
कानून बनाउन आफूहरुको संख्या अपर्याप्त रहे पनि जनताको आवाज बोल्न पर्याप्त संख्या आफूहरुसँग रहेको तर्क गरे ।




प्रतिक्रिया