ओलीले सम्झिए तुलसीलालको योगदान र भीमदत्तको टाउको काटिएको घटना

ओलीले सम्झिए तुलसीलालको योगदान र भीमदत्तको टाउको काटिएको घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नेपाली कम्युनिस्ट आन्दोलन र किसान आन्दोलनका अग्रणी नेता तुलसीलाल अमात्य र भीमदत्त पन्तको योगदानको स्मरण गरेका छन् ।

अमात्य र शहीद पन्तको स्मृति दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी ओलीले ती दुई नेताले निरंकुशता र सामन्ती भू–स्वामित्वविरुद्धको संर्षमार्फत पुर्‍याएको योगदान नेपाली इतिहासमा सधैँ स्मरणीय रहिरहने बताए ।

अमात्य र पन्तले स्थापित गरेका आन्दोलनको विरासतलाई थप सशक्त बनाउन उनले अपिल पनि गरे ।

ओलीले नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनबाट महासचिवमा निर्वाचित तुलसीलाले कम्युनिष्ट किसान आन्दोलनलाई वैचारिक र संगठनात्मक रूपमा सुदृढ बनाउन उल्लेखनीय भूमिका खेलेको बताए ।

अमात्यले सामन्तवादी भू–स्वामित्व अन्त्यका लागि ‘जसको जोत, उसको पोत’ नारामार्फत किसानलाई आफ्नो हक अधिकारका लागि संगठित हुन प्रेरित गरेको ओलीको भनाइ छ ।

शहीद पन्तलाई सामन्तवादी शोषणविरुद्ध संघर्ष गर्ने निडर र क्रान्तिकारी योद्धाका रुपमा ओलीले चित्रण गरेका छन् ।


सुदूरपश्चिममा हलिया र कमैया प्रथाविरुद्ध उत्पीडित किसानहरूको पक्षमा पन्तले ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने नारासहित पन्तले किसान आन्दोलनको नेतृत्व गरेको स्मरण उनले गरे ।


पन्तको १७ साउन २०१० मा गोली हानी हत्या गरिएको थियो । हत्यापछि पन्तको टाउको छिनालेर सार्वजनिक प्रदर्शनीमा राखिएको थियो ।

उक्त घटना इतिहासकै अत्यन्त दुःखद अध्यायका रुपमा रहेको ओलीले उल्लेख गरे ।