सेनालाई दिइएको स्वास्थ्य सामाग्री खरिद अनियमितताबारे बचाउमा उत्रिए प्रधानमन्त्री

सेनालाई दिइएको स्वास्थ्य सामाग्री खरिद अनियमितताबारे बचाउमा उत्रिए प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको बचाउ गरेका छन् । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य सामाग्री खरिद गर्न सेनालाई जिम्मा दिएको विषयको बचाउ गर्दै भ्रष्टाचारको गलत आरोप लगाइएको बताए ।

प्रधानमन्त्री ओलीले अहिले सबैभन्दा चुनौती स्वास्थ्य उपकरणहरुको आपूर्ति भएको बताए । सरकारले ओम्नी समूहसँग गरेको विवादास्पद सम्झौता रद्द गरेर स्वास्थ्य सामग्री आपूर्तिको जिम्मा नेपाली सेनालाई दिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र बाहिरबाट सरकारको निर्णयको आलोचना भइरहेको छ ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संकटका बेलामा सरकारलाई असफल बनाउन भ्रष्टाचारको गलत आरोप लगाइएको बताएका हुन् ।

‘भ्रष्टाचार र अनियमिताको आरोप सरकारलाई असफल देखाउन र आफ्नो निहीत स्वार्थ पूरा गर्न गरिने प्रयास बेमौसमी बाजा मात्रै हो’, उनले भने, ‘कामै गर्न नदिने गरी निराधारा आरोप लगाउनु हुँदैन । मिडिया र सामाजिक सञ्जालमा आउने टिप्पणीमा मेरो ध्यान गएको छ ।’

उनले भ्रष्टाचार भएको देखिए सरकार निर्मम बनेर कारवाहीका लागि तयार रहेको बताए । ‘भ्रष्टाचारजन्य कुरा देखिएमा सरकार निर्ममतापूर्वक कारवाही गर्न तयार छ’, उनले भने, ‘सरकारका काम विवादमा आउनु हुँदैन । सुशासनका मानकमा प्रश्न उठनु हुँदैन । तर सरकारलाई असफल बनाउने नाममा नभएका कुरा कसैले उछाल्नु गलत हो ।’