काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) अजरबैजान प्रस्थान गरेका छन् ।
अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन् ।
ओली कतार एयरवेजको विमानमार्फत बाकुतर्फ प्रस्थान गरेका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ओलीले पर्सी शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नाम आन्दोलन कुनै गुट र समूहमा आबद्ध नभएका देशहरुको समूह हो । यो समूहमा १ सय २० देश आवद्ध छन् भने १७ मुलुक पर्यवेक्षक सदस्य रहेका छन् ।
दोस्रो विश्वयुद्धपछि अधिकांश मुलुक तत्कालीन सोभियत संघ र अमेरिका पक्षधरमा विभाजित भएका बेला तटस्थ रहेका मुलुक आबद्ध रहेर सन् १९६१ मा सर्वियाको राजधानी बेलग्रेडमा नाम आन्दोलन स्थापना भएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार, भ्रमणको दौरानमा उनले विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत छन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सम्मेलनपूर्वका विभिन्न सेसनहरूमा सहभागी हुन जापानबाट सीधैं बाकु पुगिसकेका छन् ।
प्रधानमन्त्री ओली सम्मेलन सकाएर कात्तिक १० गते आइतबार लक्ष्मीपूजाका दिन स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया