काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन पाँच वटा सुझाब दिएका छन्
सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालीले खाने तरकारी र अचारमा औषधीय तत्व रहेको बताए ।
उनले भने, ‘कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई हामीले आत्मसात् गर्नुपर्छ । भाइरसको औषधि छैन, यस भाइरसको पनि औषधि छैन । विज्ञहरु भनिरहेका छन्– यस भाइरसका विरुद्धको नयाँ खोप पत्ता नलागेसम्म यस महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै हाम्रो आनीबानी र आहार–विहारमा आवश्यक सतर्कता अपनाउनु हो ।’
त्यस्तै प्रधानमन्त्री ओलीले भाइरसलाई व्यक्तिबाट व्यक्तिमा सर्न नदिन सामाजिक दूरी कायम गर्ने र हरेक व्यक्तिमा प्रतिरोधी क्षमता बृद्धि गर्न सुझाव दिएका छन् ।
‘सोचौं, हुनेखाने हुन् वा हुँदा खानेको, अचारको रुपमा होस् वा तरकारी, हाम्रा भान्छामा प्रयोग हुने केही तत्वहरुमा किन समानता पाइन्छ ? किनकि त्यसमा औषधीय तत्व छ । हाम्रा पूर्वजहरूले हजारौं वर्ष अगाडिदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा अघि सारेका र हाम्रा भान्छामा प्रयोग हुँदै आएका ती औषधीय तत्वले रोगको प्रतिरोध क्षमता बढाउन बल पु¥याइरहेका छन्’, उनले भने ।
यस्ता छन् प्रधानमन्त्रकिो पाँच टिप्सः
– पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।
– दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारिरीक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।
– तेस्रो, भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ ।
– चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।
– पाँचौं, उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ ।




प्रतिक्रिया