काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथी जस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनी र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएकाले तिनको प्रयोग बढाउन आग्रह गरे । विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीको प्रभाव भइरहेका बेला प्रधानमन्त्री ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन त्यस्ता वस्तुको प्रयोग बढाउन आग्रह गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘मैले शरीरको प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा ती कुराहरु गरेको हुँ तर कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए । म उहाँहरुलाई सुझाव दिन चाहान्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाउँ । आयुवर्दे र योग हाम्रा असाधारण औषधि हुन् । यिनीहरुलाई अगाडि बढायौँ ।’
‘उहाँले व्यायाम, प्रणायाम र ध्यानको संयोजन नै पूर्ण योग रहेकोमा जोड दिदै हिमवत् खण्ड आयुर्वेद र योगको उद्गम र विकास स्थल रहेको बताउनुभयो,’ प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापाले भने ।
त्यस्तै प्रधानमन्त्री ओलीले निरोगी बन्न योग आवश्यक भएको बताएका छन् । उनले योग साधनाले तनाव ब्यवस्थापनमा सघाउने बताए ।
‘मानव जीवनलाई स्वस्थ्य र नैतिकवान बनाउन मद्दत पु¥याउँछ । हाम्रो प्राचीन शास्त्रमा अष्टाङ्ग योगबारे उल्लेख गरिएको छ । जसमा योगका आठवटा चरण यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधीको साधनाबारे ब्याख्या छ’, उनले भनेका छन्, ‘हाम्रो देश आदिकालदेखि ऋषिमुनि तपस्वीहरुको पवित्र साधनास्थल हो । प्राचीन कालमा यस भूमिमा ऋषिमुनिहरुले ध्यान, आध्यात्मिक चिन्तन एवं आयुर्वैदिक पद्दतिको विकास गरेका थिए । आयुर्वेदका मुख्य ग्रन्थमध्येको चरक संहितामा आयुर्वेदको सिद्धान्त हाम्रै हिमालय क्षेत्रमा ऋषिमुनिहरुको सम्मेलनले प्रतिपादन गरेको कुरा वर्णित छ र संहितामा हिमालय क्षेत्रका वनस्पति अरु क्षेत्रका भन्दा प्रभावकारी वा गुणकारी भएको उल्लेख गरिएको छ । आयुर्वेदमा कायचिकित्सा, शल्यचिकित्सा, शालाक्य, कौमारभृत्य, अगदतन्त्र, रसायन, वाजीकरण, भूतविद्या गरी आठ अङ्ग छन् । शल्यचिकित्साको सबै भन्दा पुरानो ग्रन्थ मानिने महर्षि सुश्रुतको सुश्रुत संहितामा शल्यचिकित्साका प्रक्रिया र औजारहरु बारे वर्णन छ ।’
त्यस्तै प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट बच्न गुणयुक्त आहार, व्यायाम र उच्च मनोबल जरुरी रहेको बताएका छन् ।
‘यतिबेला सिंगो विश्व सँगै हामी पनि कोरोना भाइरसको महामारीसँग जुधीरहेका छौं । यस्तो बेला औषधीय गुणयुक्त आहर, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय हुन् । यी विषयमा योग शास्त्रले ज्ञान दिंदै आएको छ । आधारभूत स्वास्थ्य सेवा भित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिंदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्दछौं’, प्रधानमन्त्रीले भनेका छन्, ‘समृद्ध नेपाल–सुखी नेपाली हाम्रो राष्ट्रिय आकाङ्क्षा छ । शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक यसका मुख्य आधार हुन् । अन्तर्राष्ट्रिय योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्दछु ।’




प्रतिक्रिया