काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपाल भित्रका शक्तिहरु लागिपरेको खुलासा गरेका छन् । प्रधानमन्त्री अोलीले आफूलाई नक्सा सँच्याए वापत प्रधानमन्त्रीबाट हटाउने खेल सुरु भएको बताएका हुन् ।
आइतबार मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई सरकारबाट हटाउने खेल नखेल्न पनि चेतावनी दिएका छन् ।
‘दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालको राष्ट्रियता यति कमजोर छैन नक्सा छापे वापत, यस देशको प्रधानमन्त्री हटाउँछस भनेको छ भने, यो नसोचे हुन्छ।’
उनले आफूलाई प्रधानमन्त्रीमा बसिरहन मन नभएको बताएका छन् ।
‘अहिले केपी ओलीलाई नहटाई हुँदैन भनिएको छ । संविधान संशोधन गरेर नक्सा सँच्याउने अपराध गर्नेलाई राख्नै नहुने भनिएको छ । यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्ने आँट गर्ने छैन किनभने भोलिपल्ट बर्खास्त हुन्छ,’ उनले भने, ‘त्यसैले म आफ्ना लागि होइन, देशका लागि हो । हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता वहकाऊमा फस्ने छैन । कोशिस् गर्नेलाई गर्न दिउँ ।’
उनले चीनसँग पारवहन सम्झौता गरेपछि पहिलो कार्यकालबाट हटाइएको स्मरण गर्दै अहिले पनि त्यही सपना देखिएको बताएका छन् ।
‘बहस चलेको छ । पहिले यहाँहरूलाई सम्झना होला, चीनतिरबाट ट्रान्सपोर्ट, ट्रन्जिट एग्रिमेन्ट गरेपछि सरकार ढल्या थियो हामीसँग बहुमत थिएन,’ उनले भने ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको विषयलाई नेपालले आत्मसात् गरिसकेको बताए ।
‘कहिलेकाहीँ हाम्रो देशमा पनि बहकावहरु आएका छन् । जातीयताका, भाषिकताका,साम्प्रदायिकताका अथवा आस्था समूहका । एकता तोड्ने विग्रह पैदा गर्ने र देशको अहित गर्ने । आफ्नो संकीर्ण स्वार्थका लागि वा ,कसैबाट निर्देशित भएर यस्ता काम गर्ने । तर मदन भण्डारी कहिले पनि बहकिनु भएन,” उनले भने ।




प्रतिक्रिया