काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा अोलीसँग भएको छलफल सकारात्मक भएको बताएका छन् ।
नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा मागिएपछि प्रधानमन्त्रीले आफू निकट मन्त्रीलाई बालुवाटारमा बोलाएका थिए । जसमा प्रचण्ड निकट मन्त्रीलाई बैठकमा बोलाइएको थिएन ।
बुधबार बिहान बसेको बैठकमा पार्टी र सरकारबारे छलफल भएको बताइएको छ । मन्त्री भट्टराईले पार्टी सकारात्मक दिशामा अगाडि बढ्ने विश्वास लिएका छन् ।
प्रधानमन्त्री ओलीले स्थायी कमिटी सदस्यसँग छलफल गरेकोबारे सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मन्त्री भट्टराईले विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रधानमन्त्रीलाई सुझाव दिइएको बताए ।
‘पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्स गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनु भयो । बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्श गर्ने प्रमले बताउनु भयो जुन सकारात्मक छ’, उनले भनेका छन् ।
त्यस्तै मन्त्रीहरुले कुनै पनि हालतमा पार्टीलाई बचाउनुपर्ने र जनताले दिएको जिम्मेवारी पूरुा गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका छन् ।
‘सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुद्धृढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिनुभएको छ । चिज साकारत्मक दिशामा जाने आशा गरौ । प्रोक्सी वार बन्द गरौं’, उनले भनेका छन् ।
ओलीले नेपाल निकट घनश्याम भुसाल र योगेश भट्टराईलाई वैठकमा सहभागी गराएका थिए । त्यस्तै गृहमन्त्री राम बहादुर थापा बादल र नेता लेख राज भट्ट बैठकमा सहभागी भएका थिए ।
ओलीले प्रचण्ड निकट मन्त्रीहरु वर्षमान पुन, शक्ति बहादुर बस्नेत र गिरीराजमणी पोखरेललाई वैठकमा बोलाएनन् ।
मंगलवारको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम लगायत नेताहरूले ओलीको राजीनामा मागेका थिए ।




प्रतिक्रिया