नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट सरकारले लिएको छः प्रधानमन्त्री ओली

नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट सरकारले लिएको छः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको सरकारले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने संकल्प लिएको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसका अवसरमा एक सन्देश जारी गर्दै देशलाई समृद्ध र देशमा बस्ने नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट सरकारले लिएको बताएका हुन् ।

‘विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव, बाम–लोकतान्त्रिक संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता कमरेड पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु,’ उनले भनेका छन्, ‘यस देशलाई समृद्ध र देशमा बस्ने नागरिकलाई सुखी बनाउने संकल्प कम्युनिस्ट पार्टीको यस सरकारले लिएको छ । यस संकल्पलाई साकार पार्ने दिशामा अग्रसर हुन पुष्पलाल स्मृति दिवसका अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु ।’

प्रधानमन्त्री ओलीले देशलाई समृद्ध बनाउने साधन पार्टी भएको बताउँदै नेकपा एकताबद्ध भए अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

‘देशलाई समृद्ध बनाउने साधन पार्टी हो । पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य छ । त्यसैले हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अगाडि सारेका छौं’, उनले भनेका छन् , ‘हामी यसअघि गर्न नसकेका र नगरिएका तमाम कामहरु गर्दैछौं । पुष्पलालका नीतिहरु आजका सन्दर्भमा यिनै हुन् । पुँजी र प्रविधिलाई हाम्रा प्रयासहरुमा मिसाऔँ, उत्पादन वढाऔँ, निर्यात वढाऔँ, आयात घटाऔँ । यस बाटोबाट हामी समृद्धि हासिल गर्ने छौँ । र, आज हामी समृद्धिका लागि मेहनत गरिरहेका छौं ।’

उनले अहिले कम्युनिस्ट पार्टीको सरकारले समानतालाई समृद्धिसँग जोडेर अघि बढिरहेको बताएका छन् ।

‘आजको पिंढीले आफ्नो जीवनमा समृद्धि सहितको समानता हासिल गरी पुष्पलालका योगदान स्मरण गर्नेछ’, प्रधानमन्त्रीले भनेका छन् , ‘पुष्पलालको अगुवाईमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नु अगाडि पनि नेपालमा कम्युनिस्ट नेता र कार्यकर्ता थिए । तर, कम्युनिस्ट आन्दोलनको ब्यवस्थित राजनीतिक र सांगठनिक आकार थिएन । कमरेड पुष्पलालकै अगुवाईमा कम्युनिस्ट आन्दोलनको संस्थागत थालनी, समाजको तात्कालीन अवस्थाको गहिरो विश्लेषण, नेपाली समाज र राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र संगठनको स्थापनामा भयो । विचारका हिसावले नेपाल कुन अवस्थामा छ, नेपालमा गर्नु पर्ने के हो र कसरी अगाडि वढ्ने भन्ने व्यवस्थित वैचारिक मार्गदर्शन अघि सार्दै पुष्पलालले सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाउनु भयो ।’

प्रधानमन्त्री अ‍ोलीले पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक सम्पूर्ण रुपमा क्रान्तिकारी, परिवर्तनकारी, वैज्ञानिक विचार प्रारम्भ गरेको उल्लेख गरेको बताएका छन् ।

‘यो नेपाली राजनीतिमा पुष्पलालको पहिलो योगदान हो । उहाँले विचारलाई विचारको रुपमा मात्रै होइन, व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भनेर संगठन निर्माण गर्नुभयो । बाम–लोकतान्त्रिक आन्दोलन र रुपान्तरणका व्यवस्थित विचारमा पुष्पलालसँग समकालीन नेताहरुमध्ये अरु कसैको तुलना हुन सक्दैन, चाहे ती जुनसुकै राजनीतिक धारका होउन् । यो नेपालको बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको श्रेष्ठ पक्ष हो ।’

त्यस्तै उनले नेकपाले पुष्पलालको सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम गरेको बताएका छन् । ‘विभाजित कम्युनिस्ट आन्दोलन एकतावद्ध, राष्ट्रब्यापी र मजबुत भएको छ । पार्टीले करिव दुईतिहाई बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ । पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरैहदसम्म पूरा गरेका छौं’, उनले भनेका छन् ।