काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीले नागरिकको सामाजिक र आर्थिक जीवनमा चुनौती खडा भएको बताएका छन् ।
विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री अोलीले कोरोना भाइरसको चुनौतीको सामना गर्दै सरकार राष्ट्रको विकासमा लम्किरहेको बताएका छन् ।
‘यस्तो बेला विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीले नेपाल लगायत विश्वमै नागरिकको स्वास्थ्य, सामाजिक र आर्थिक जीवनमा चुनौती खडा भएको छ’, उनले भनेका छन्, ‘समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सम्पूर्ण समुदायलाई समान अवसर, सुरक्षा, न्यायको प्रत्याभूति गर्ने नीति राज्यले लिएको छ । नेपालको संविधान र प्रचलित कानुन अनुसार सम्पूर्ण आदिवासी जनजातिहरुको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानता सहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको छ ।’
त्यस्तै उनले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीले सिर्जना गरेको परिस्थितिलाई मध्यनजर गर्दै यस पटक यस पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनु पर्ने वाध्यता रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर बताएका छन् ।
‘नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने संकल्पसाथ समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हामीले तय गरेका छौं । सरकारको यस उद्देश्यलाई सफल पार्न आ–आफ्नो ठाउँबाट सक्रिय रहन म सबैमा हार्दिक आह्वान समेत गर्दछु’, उनले भनेका छन् ।




प्रतिक्रिया