नेपालमा काम गरेर खान समस्या छैन्, युवाहरू क्रियाशील हुनूस्ः प्रधानमन्त्री अ‍ोली

नेपालमा काम गरेर खान समस्या छैन्, युवाहरू क्रियाशील हुनूस्ः प्रधानमन्त्री अ‍ोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नागरिकको जीवन बचाउन मुख्य प्राथमिकता दिएको बताएका छन् ।

आइतबार साँझ नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुसँगको भेटवार्तामा प्रधानमन्त्री अ‍ोलीले अहिलेको अवस्थामा स्वतन्त्रताको असन्तुलित वकालतले गर्दा नागरिकले धेरै ठूलो क्षति भोग्नुपर्ने बताए । अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको समेत उल्लेख गरे ।

कोभिड–१९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुनेतर्फ सम्बन्धित सबै जिम्मेवारहरू सचेत हुन पनि उनले निर्देशन दिए ।

उनले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गरे । प्रधानमन्त्रीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पारे ।

‘नेपालमा काम गरेर खान समस्या छैन् । भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन’, उनले भने, ‘युवाहरू देशभित्र क्रियाशील हुनूस् । छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैठौ मुलुकमा नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन भन्ने देखाउँ ।’

कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको मनोबल बढाउनुपर्नेमा उनले जोड दिए । उक्त अवसरमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका नेतृत्वकर्ताहरूको तर्फबाट आ–आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए । त्यसक्रममा उद्योगी व्यवसायीहरूले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाइ चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन अनुरोध प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्न कदमहरू, गरेको अध्ययन र सम्बोधनको बारेमा स्पष्ट पारेका थिए ।