ग्राण्डीमा नेताको आउजाउ बढ्यो, प्रधानमन्त्रीलाई भेट्न दिइएन


काठमाडौं – धापासीस्थित ग्राण्डी अस्पतालमा दलका नेताहरुको आउजाउ बढेको छ । मृगौलाको डायलाइसिस गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेताहरू अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट्न नपाए पनि नेताहरुले उपचारमा संलग्न चिकित्सकहरुसँग उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।

अस्पतालबाट निस्कने क्रममा नेताहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था गम्भीर नरहेको र सुधारोन्मुख रहेको प्रतिक्रिया दिएका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अस्पतालका निर्देशक चक्र राज पाण्डेसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको बताए ।

प्रवक्ता श्रेष्ठले चिकित्सकहरुले प्रधानमन्त्रीको अवस्था एकदमै ठीक रहेको भनेर आफूलाई जानकारी दिएको बताएका छन् ।

‘उपचारमा भएकाले प्रधानमन्त्रीसँग मेरो भेट भएन,’ श्रेष्ठले भने, ‘तर मेडिकल डाइरेक्टर चक्रराज पाण्डेसँग मेरो भेट भयो । उहाँले भन्नुभयो– प्रधानमन्त्री पूर्णरूपमा स्वस्थ हुनुहुन्छ ।’

त्यस्तै नेकपाका स्थायी कमिटी सदस्य भीम रावल पनि प्रधानमन्त्री भेट्न ग्राण्डी पुगेका थिए । उनले पनि प्रधानमन्त्रीसँग भेट्न भने पाएनन् ।

सञ्चारकर्मीलाई उनले प्रधानमन्त्रीको उपचारको कोर्ष बुधबारबाट शुरू भएको, बिहीबार पनि जारी रहेको र केहीबेरमा तल्लो तलामा ल्याउने तयारी भएको जानकारी दिए ।

‘माथिल्लो तलामा डायलाइसिस भइरहेको छ । डायलाइसिसको प्रक्रिया आधा पूरा भएको छ । बाँकी पूरा भएपछि तल ल्याइने छ,’ उनले भने । उनले बुधबार प्रारम्भिक चरणको जाँच भएको बताउँदै चिकित्सकसँगको परामर्शमा आज डिस्चार्ज गर्ने–नगर्ने निर्णय हुने पनि बताए ।

प्रमको सचिवालयले भने आजै डिस्चार्ज गर्ने तयारी भइरहेको बताएको छ । यद्यपि त्यहाँका चिकित्सकले भने शुक्रबार पनि डायलाइसिस गर्नुपर्ने हुनसक्ने भएकाले अस्पतालमै राख्नुपर्ने तर्क गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement