काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा साम्प्रदायिक भावना फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको बताएका छन् ।
आइतबार ‘पृतनापति समन्वयात्मक बैठक’को उद्घाटनका अवसरमा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री एवम् रक्षामन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव समूहतर्फ इंगित गर्दै जनतामा विभाजन ल्याउन उद्यत तत्वहरु निरन्तर सक्रिय रहँदै आएको उल्लेख गरेका छन् ।
‘राष्ट्रिय एकतामा बिग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील व्यक्ति वा समूहहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौति हुन् । विशेषतः उच्च नेतृत्व वर्ग सचेत रहनु पर्दछ भन्ने सन्देश प्रवाह गर्न चाहन्छु’, उनले भने ।
त्यस्तै प्रधानमन्त्री ओलीले नेपाली सेनाभित्रै घुसपैठ हुनसक्ने भएकाले थप चनाखो बन्न अधिकृतहरुलाई निर्देशन दिएका छन् ।
‘नेपाली सेनाभित्रै हुनसक्ने घुसपैठ सम्बन्धमा पनि नेपाली सेना चनाखो हुनुपर्दछ । विशेषतः उच्च नेतृत्व वर्ग सचेत रहनु पर्दछ भन्ने सन्देश प्रवाह गर्न चाहन्छु’, प्रधानमन्त्री ओलीले भने ।
रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले सेनाको संलग्नतामा हुने सबै कार्यहरु उच्च राष्ट्रिय महत्वका हुने र सेनाले सम्पन्न गरेका सबै कार्यहरु राष्ट्रिय उपलब्धि भएको बताए ।
‘कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रणको कार्य तथा बाढी, पहिरो र डुबानजस्ता विपद्को अवस्थामा निर्वाह गर्दै आएको भूमिका लगायत सिन्धुपाल्चोक जिल्लामा हालसालै स्थानीय जनताको सुरक्षाको लागि सम्पन्न गरेको ‘अपरेसन नाम्फा जोगाउ’ को सफलताको लागि म नेपाल सरकारको तर्फबाट उच्च मूल्याङ्कन गर्दछु’, उनले भने, ‘त्यसैगरी कोभिड–१९ विरुद्धको राष्ट्रिय लडाईमा नेपाली सेनाले केन्द्रदेखि प्रदेश र स्थानीय सरकारहरुलाई पु¥याएको सहयोगको म मुक्तकण्ठले प्रशंसा गर्दछु । वस्तुतः विदेशबाट हवाई र स्थलमार्ग हुँदै स्वदेश फिर्ता हुने नेपालीहरुको सम्पूर्ण व्यवस्थापन कार्य, क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको व्यवस्थापन, कोभिड–१९ सम्बन्धमा विभिन्न माध्यमबाट गर्दै आएको जनचेतना अभिबृद्धि कार्य समेत उल्लेखनीय छन् ।’
त्यस्तै उनले कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका नागरिकको अन्तिम संस्कार गर्ने सैनिक जवानहरुको कार्यको पनि प्रशंसा गरेका छन् । उनले कठीन भूगोल र प्रतिकूल मौसमका बावजुद छोटो अवधिमा नै दार्चुला जिल्लाको छाङ्रुमा घोडेटो बाटो पनि नेपाली सेनाले निर्माण सम्पन्न गरी हालै हस्तान्तरण गरेको पनि स्मरण गरेका छन् ।
‘सेनाको इतिहास जति गर्विलो छ, यसको वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छ । सरकार प्रमुखका हैसियतले नेपाली सेनाका सम्पूर्ण जवानहरुको कर्तव्यपरायणता, राष्ट्रप्रतिको बफादारिता, देशभक्ति र समर्पण मेरो लागि पनि गर्वको विषय हो’, उनले भने, ‘मैले सरकारको नेतृत्व गरेको करिब ३ वर्षको कार्यकालमा नेपाली सेनाबाट राष्ट्रिय महत्व बोकेका धेरै कार्यहरु भएका छन् । नेपाल सरकारले गत आर्थिक वर्षबाट थालनी गरेको कार्यसम्पादन सम्झौता कार्यान्वयनको प्रतिवेदनलाई हेर्दा नेपाली सेनाको कार्यसम्पादन उत्साहजनक रहेको छ । कोभिड–१९ बाट सिर्जित असहज परिस्थितिमा यस आर्थिक वर्षमा हाम्रा केही कार्यक्रमहरु अपेक्षाकृत रुपमा सम्बोधन हुन नसकेको वास्तविकता मैले बुझेको छु ।’
प्रधानमन्त्री ओलीले विद्यमान अन्तर्राष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुन सक्ने परिस्थिति, सुरक्षा खतरा र चुनौतिहरुका बावजुद एकातिर पूर्वाधार निर्माण, आर्थिक स्थिरता एवम् विकास तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सम्बोधनका आवश्यकताहरु तत्कालीन चुनौतिका रुपमा टड्कारो देखिएको बताए ।
‘सेनाको व्यवस्थापनमा रहेको राष्ट्रिय गौरवको काठमाण्डु–तराई मधेस द्रूतमार्ग गत आवमा विभिन्न बाधा अड्चन आए तापनि अन्तर्राष्ट्रिय कन्सल्टेन्ट छनोट कार्य सम्पन्न भइसकेको परिप्रेक्ष्यमा काठमाण्डु–तराई र मधेस द्रूतमार्ग सडक आयोजनाको लक्ष्यबमोजिम कार्य सम्पन्न गर्नेतर्फ नेपाली सेनाको थप ध्यानकेन्द्रित हुनुपर्ने मैले देखेको छु’, उनले भने ।
प्रधानमन्त्री ओलीले जङ्गी अड्डाबाट प्राप्त सैनिक ऐन, २०६३ संशोधनको मस्यौदा पनि अध्ययन गरी निकट भविष्यमा नै स्वीकृत गराउने आश्वासन दिएका छन् । संगठन सञ्चालनमा प्रधान सेनापति पूर्णचन्द्र थापाले शुरु गरेको सेना रुपान्तरणका विविध कार्यक्रमहरु, आर्थिक सुशासन तथा प्रणाली र पद्धति स्थापना गर्ने सम्बन्धी व्यवस्था प्रशंसनीय रहेको बताए ।
‘सेनाभित्र पारदर्शिता र इमान्दारिताको अभ्यास स्थापित हुँदै गएको मैले पाएको छु । वर्तमान प्रधान सेनापतिज्यूले यसलाई थप सुदृढ बनाउँदै लैजाने योजना अघि सार्नु भएको छ । त्यस कार्यमा मेरो व्यक्तिगत तथा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने म तपाईंहरुलाई जानकारी गराउन चाहन्छु’, उनले भने, ‘प्रधान सेनापतिज्यूको पहलकदमीमा पीएसओज्, रथीबृन्द, पृतनापतिहरु लगायतका रथीबृन्दहरुको योगदानको पनि प्रशंसा गर्न चाहन्छु । तपाईंहरुको अनुभव, इमान र विभागीय योगदानबाट नै मातहतका फौजको हौसला र मनोबल उच्च हुनेछ भने नेपाली सेनाप्रति नेपाली जनताको विश्वास तथा सेनाको ओज र विश्वसनीयता बढ्ने कुरामा तपाईंहरु सचेत हुनुहुन्छ भन्ने मलाई लाग्दछ । नेपाली सेनाको जग भनेको सिपाही अर्थात् नेपाली सेनाका सकल दर्जाहरु नै हुन् ।’
उनले नेपाली सेनाका सकल दर्जामा नयाँ ऊर्जा हासिल भएको र अब सेनामा सुधार हुने आशा रहेको बताए ।




प्रतिक्रिया