काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारबाट राजीनामा नदिने प्रष्ट पारेका छन् ।
बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै उनले आफूले राजीनामा दिए देश बर्बादीतर्फ जाने बताएका छन् ।
‘बाहिर सञ्चारमाध्यममा हल्ला फैलिइसक्छ राजीनामा दिन पस्यो भनेर । तपाईहरु विचार गर्नुस के मैले राजीनामा दिन मिल्छ ? मेरा लागि होइन देशका लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतर्फ जान दिनु हो । त्यसकारण मैले राजीनामा दिनेवाला छैन्,’ उनले भने ।
उनले अस्थिरताको खेती गरिरहने प्रयास केहीमा आदत नै बसेको बताएका छन् । प्रधानमन्त्री ओलीले देशमा स्थिरताका लागि काम गर्ने बताएका छन् ।
‘बाहिर तयारी गर्दैछन् भन्ने सुनिन्छ । केही पनि हुने वाला छैन । मेरा करले होइन, जनताको आवश्यकता र समर्थनले आएको हो । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो,’ उनले भने, ‘तपाइँहरु ढुक्क भएर काममा लाग्नुस् । धेरैपल्ट भित्रबाहिर प्रयास भए । जे मा पनि आलोचना गर्ने । अस्थिरताको खेती गरिरहने प्रयास केहीमा आदत छ । त्यस्तालाई म के गर्छु र । देशमा स्थिरताका लागि काम गर्छौं ।’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्रीको राजीनामा माग भइरहेका बेला उनको यस्तो भनाई बाहिर आएको हो ।




प्रतिक्रिया