काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दस पृष्ठ लामो पत्र लेख्दै नेतृत्व परिवर्तनमा लागेको बताएका छन् ।
अध्यक्ष प्रचण्डको पत्रको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको चलखेलमा किन लागेको भन्दै प्रश्न गरेका छन् । उनले पाँच जना सचिवालय सदस्यहरु मिलेर गुटबन्दीमा सक्रिय भएको आरोप लगाएका छन् ।
बैठक बोलाउन दबाब दिन अध्यक्ष प्रचण्डसहित, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको छुट्टै भेला बसेको थियो ।
‘चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ? के कमरेडहरूलाई महाधिवेशनमा आउने प्रतिनिधिहरूको विवेकमाथि विश्वास छैन’, ओलीले पत्रमा भनेका छन्, ‘के कमरेडहरूलाई दुईवर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो ? होइन भने फेरि किन सधैंभरि सरकारका लागि दौडधुप ?’
त्यस्तै प्रधानमन्त्री अोलीले आफू भन्दा अघिल्लो प्रधानमन्त्रीका हातखुट्टा बाँध्ने र घेराबन्दी काम भएको थियो ? भन्दै प्रश्न गरेका छन् ।
‘पटक–पटक मन्त्री र प्रधानमन्त्री भइसक्नुभएका तपाईं सचिवालयका कमरेडहरूलाई म प्रश्न गर्न चाहन्छु, के विगतमा पनि प्रधानमन्त्रीको हातखुट्टा बाँध्ने र घेराबन्दी गरिएको थियो र ?’, उनले प्रश्न गरेका छन् ।
प्रधानमन्त्री अोलीले आफ्नो सरकारले गरेका सबै कामको अपजस आफैंले लिने बताएका छन् । उनले अध्यक्ष प्रचण्डसँगको सल्लाहमा सरकार सञ्चालन गरिरहेको बताएका छन् ।
‘पार्टीको नीतिगत निर्देशनको आलोकमा अध्यक्ष प्रचण्डसँग नियमित सल्लाह गरेरै सरकार संचालन गर्दैछु’, उनले भनेका छन् ।




प्रतिक्रिया