काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बिहीबार साँझ ५ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।
यसका लागि उनले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई निम्तो दिइसकेका छन् । कांग्रेस नेता रमेश लेखककाअनुसार प्रधानमन्त्री ओलीले लामो समयदेखि रिक्त रहेका संवैधानिक नियुक्तीका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । नेता लेखकले सभापति देउवा बैठकमा सहभागी नहुने जानकारी दिए ।
सभामुख अग्नी प्रसाद सापकोटालाई प्रधानमन्त्री अोलीले खबर नै नगरेको पाइएको छ । सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले बैठकबारे अहिलेसम्म जानकारी नआएको बताए ।
मंगलबार बिहान बोलाइएको परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित भएका थिए । लगत्तै साँझ प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए ।
सरकारले एकलौटी रुपमा ल्याएको उक्त अध्यादेशको चौतर्फी विरोध भएको थियो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यादेश फिर्ता हुनुपर्ने नेताहरुको अडान थियो । बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता गरेर अगाडि बढ्न सहमत भएका थिए ।
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता गर्न साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक अगावै संवैधानिक परिषद्को बैठकबाट प्रधानमन्त्रीले केही महत्वपूर्ण निर्णय गर्नसक्ने आँकलन गरिएको छ ।




प्रतिक्रिया