सुदूरपश्चिममा आफ्ना मन्त्री बर्खास्तमा परेपछि के गर्दैछ ओली समूह ?

सुदूरपश्चिममा आफ्ना मन्त्री बर्खास्तमा परेपछि के गर्दैछ ओली समूह ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहका मुख्यमन्त्री भट्टले प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी ओली समूहमा रहेका मन्त्री बोहरालाई बर्खास्त गरेका हुन् ।

संस्थापन समूहमा रहेका कारणले मन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले बर्खास्त गरेको आली समूहको आरोप छ । बोहरा ओली समूहका एक्ला मन्त्री थिए ।

नेकपा ओली समूहका केन्द्रीय सदस्य ओमविक्रम भाट सरलले फरक मत राखेकै आधारमा बर्खास्त गर्नु निन्दनीय भएको बताएका छन् । उनले मन्त्री बोहरालाई बर्खास्त गरेपछि आवश्यक कदम चाल्ने तयारी भएको जानकारी दिए । उनले मूख्यमन्त्रीको उक्त कदम उपर्युक्त नभएको बताए ।

उनले सरकार चौतर्फी घेराबन्दीमा परेको र काम गर्न नदिएका कारण प्रधानमन्त्री ओलीले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गरेको बताए ।

नेता भाटले सभामुख र विपक्षी दलको नेता संवैधानिक परिषद्को बैठकमा नआउने, सरकारलाई चारैतिरबाट असहयोग भएकाले प्रधानमन्त्रीले मुलुकलाई अनिर्णयको बन्दीमा राख्न सकिन्न भन्ने हेतुले संसद विघटन गरेर नयाँ निर्वाचनमा जाने कदम चालेको बताए ।

‘मन्त्रीलाई बर्खास्त गर्ने कुरा राम्रो भएन । एउटा समूह यसरी लाग्यो कि संघमा अफ्ठ्यारो पारेको थियो अब त प्रदेशमा समेत अफ्ठ्यारो पार्ने । चलिरहेका आफ्नै पार्टीका सरकारलाई ढलाउनेतिर जानु भएको छ । यसले गम्भीर बनाएको छ । अब हामी पार्टीमा छलफल गरेर छिट्टै निर्णय लिन्छौं,’ उनले भने, ‘विचार राखेकै आधारमा कारबाही गर्नु न्यायोचित होइन । अविश्वासको प्रस्ताव ल्याउने नल्याउने त्यहाँका प्रतिनिधिसभाका सांसदको निर्णय हो ।’

हाल सुदुरपश्चिममा नेकपाबाट ३९ जना प्रदेशसभा सदस्य रहेका छन् । जसमध्ये तत्कालिन माओवादीबाट १४ जना एमालेबाट २५ जना प्रदेशसभा सदस्य रहेका छन् । जसमध्ये सभामुख र उपसभामुख दुई जना नेकपाबाटै छन् ।

मुख्यमन्त्रीविरुद्ध प्रचण्ड–नेपाल समूहका सांसदहरुले नै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको स्रोतले जानकारी दियो । प्रचण्ड–नेपाल समूह नै सरकार ढाल्ने योजनामा लागेकाले तत्काल आफूहरुले कुनै कदम नचाल्ने ओली समूहका एक नेताले जानकारी दिए ।

‘उहाँहरु (प्रचण्ड–नेपाल समूह) सरकार ढाल्ने योजनामा हुनुहुन्छ । त्यसमा हाम्रो (ओली समूह) कुनै सहभागिता हुनेछैन् । अहिले नै हामी अविश्वासको प्रस्ताव दर्ता गर्छौं भन्दैनौं । छलफल गर्छौं । खुलेरै अगाडि बढछौं’, ती नेताले भने ।