काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्र र राष्ट्रियताको पक्षमा बलियोसँग उभिएका छन् । उनले नेपालको एक इन्च पनि भूमि छिमेकी राष्ट्रलाई मिच्न नदिने र आफूहरु पनि कसैको भूमिमाथि आँखा नलगाउने बताएका छन् ।
भारतीय टेलिभिजन जी न्यूजसँगको अन्तर्वार्तामा प्रधानमन्त्री अोलीले भारत र चीनसँग समदूरी सम्बन्ध कायम रहेको बताउँदै दुवै छिमेकी मुलुकले नेपालको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने बताएका हुन् ।
ओलीले भने ‘दुबै हाम्रा असल छिमेकी हुन् । छिमेकीलाई चाहेर पनि बदल्न सकिँदैन । दुबै आकार र विकासमा ठूला छन् । यो हाम्रा लागि खुशिको कुरा हो । हामी दुबै मुलुकबीच समदुरीको सम्बन्ध राख्न चाहन्छौं । हामी दुबै मुलुकबीचको गलत बुझाइलाई हटाउन तयार छौं ।’
उनले नेपालले लिम्पियाधुरा र कालापानीलाई समेटेर प्रकाशन गरेको चुच्चे नक्साको ऐतिहासिकता, तथ्य र भावनालाई भारतले सम्मान गर्नुपर्ने बताए ।
‘आफ्नो सार्वभौम भूगोललाई लिएर नेपालले चीन र भारत दुबैसँग सम्झौता गर्दैन । दुबै देशसँग समान व्यवहार लागु हुन्छ’, उनले भने, ‘यो पारस्परिक सम्मानको युग हो । यो उपनिवेशको युग होइन । भूगोल र आकारमा देशको साइज ठूलो सानो होला तर, राष्ट्रको रुपमा भारत र नेपाल समान छन् । यदि भारत इमान्दार छ भने आफूलाई बोस ठान्दैन । मोदीजी म भन्दा केही वर्षले जेठो हुनुहुन्छ व्यक्तिगतरुपमा तर, सरकार प्रमुखको रुपमा हाम्रो हैसियत एउटै हुन्छ ।’
प्रधानमन्त्री ओलीले नेपाल चीनप्रति नरम नभएको बताएका छन् । उनले चीन र भारतलाई हात्तीको संज्ञा दिँदै दुवै देशले युद्ध गरे घाटा नेपाललाई नै हुने संकेत गरेका छन् ।
‘नेपाल चीनप्रति सफ्ट छैन । हामी छिमेकीसँग समस्यारहित सम्बन्ध चाहन्छौं । हात्ती लडेपनि मैदानलाई नोक्सान हुने हो । हात्ती मिलेपनि नोक्सान मैदानलाई नै हुने हो,’ उनले भने ।




प्रतिक्रिया