काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन भयरहित, निश्पक्ष र शान्तिपूर्ण तवरबाट सम्पन्न गराउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा शुक्रबार आयोजित ‘२०औं सशस्त्र प्रहरी दिवस २०७७’ विशेष समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।
‘नेपाल सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को आकंक्षासहित सुशासन र बिकासमा अगाडी बढिरहेको छ । यसका लागि सबैले आ–आफ्नोे तर्फबाट योगदान पु¥याउनुपर्छ’, उनले भने ।
त्यस्तै प्रधानमन्त्री ओलीले कर्तव्यपालनाको सिलसिलामा बीरगति प्राप्त गरेका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक सहिद कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीको त्याग र बलिदानीको स्मरण गर्दै देश र जनताको खातिर उनीहरुले प्रदर्शन गरेको बीरताको प्रशंसा गर्नुका साथै घाईते सशस्त्र प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।
उनले सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्थापना कालदेखि नै संगठनलाई प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा विभिन्न कठिनाईका बावजुद उत्कृष्ट तवरले कार्यसम्पादन गर्दै आईरहेको उल्लेख गर्दै शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रण, भूकम्प लगायत प्राकृतीक बिपत्तीकोे बेला अहोरात्र खटिई सशस्त्र प्रहरी कर्मचारीले उद्वार कार्यमा देखाएको तत्परता साथै कोभिड–१९ महामारीको समयमा अग्रपंतिमा रहि संक्रमण रोकथाम तथा स्वास्थ्य उपचारमा प्रर्दशन गरेको व्यवसायीकता, कर्तव्यपरायणता र निर्भिकताको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
उनले उक्त विशेष समारोहमा यस वर्ष उत्कृष्ट बाहिनी घोषित सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशिराज दाहाललाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरेका छन् ।
प्रधानमन्त्री ओलीले सो विशेष समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक धनबहादुर थापालाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरे ।
उनले सोही अवसरमा सशस्त्र प्रहरी बल, नेपालद्वारा प्रकाशित ‘सशस्त्र प्रहरी बल, नेपाल’ सचित्र पुस्तक लोकार्पण गरे ।




प्रतिक्रिया