काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताबारे टुंगो लागेको बताएका छन् । उनले आजबाट कुन नेकपा मूल पार्टी हो भन्ने कुराको टुंगो लागेको बताएका हुन् ।
आफू नेतृत्वको नेकपाले शुक्रबार नारायणहिटीमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टी देशकै मूल पार्टी भएको बताए ।
‘मूल पार्टी कुन हो भन्ने कुरामा अहिले पनि कोही अलमलमा छ भने कठैबरा भन्न सकिन्छ’, उनले भने, ‘मूल पार्टी कुन हो थाहा पाउनु परेन, मूल पार्टी यही हो जहाँ तपाई हामी छौँ, यो कम्युनिस्ट पार्टीको मात्रै मूल पार्टी होइन्, देशकै मूल पार्टी हो ।’
उनले आफ्नो पार्टी देश बनाउने, देशको रक्षा गर्ने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गरेर त्यसको प्रयोग गर्ने पार्टी भएको बताए । उनले नेकपा लोकतन्त्रका लागि ७ दशक संघर्ष गरेको, बलिदान दिएको र संघर्ष गरेको पार्टी भएको बताए ।
‘इतिहासको हिसाबले, बर्तामानको हिसाबले र देश बनाउने संकल्प बोकेको पार्टी हुनाले, समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्ष तोकेर त्यसलाई सार्थक बनाउन लागेको हुनाले यो पार्टी नै मूल पार्टी हो’, उनले भने, ‘मलाइ लाग्छ, आजबाट कुन पार्टी मूल पार्टी, कुन खास पार्टी, कुन सक्कली र कुन नक्कली भन्ने कुराको टुंगो लाग्यो, यसको फैसला भयो ।’
उनले भ्रष्टाचार नियन्त्रण गर्न खोज्दा जनतालाई भ्रममा पार्ने तत्व सक्रिय रहेको बताए । प्रधानमन्त्री अोलीले आफूले नेपालको नयाँ नक्सा सार्वजनिक गर्दा सरकारबाट हटाउन उत्पात मच्चाएको आरोप लगाए ।
उनले नक्कली राष्ट्रवादीको बिगबगी रहेको बताए । उनले दुई चार जना मान्छेहरु पार्टी छोडेर गएपछि आयोगहरु बनाउन सफल भएको बताए । उनले आयोग बनेको भोलिपल्ट प्रचण्ड–नेपाल समूहले नेपाल बन्द गरेको आरोप लगाएका छन् ।




प्रतिक्रिया