प्रधानमन्त्री ओलीसँग बेलायती सांसद प्रतिनिधिको भेट, यस्तो भयो कुराकानी

प्रधानमन्त्री ओलीसँग बेलायती सांसद प्रतिनिधिको भेट, यस्तो भयो कुराकानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायतको तल्लो सदन हाउस अफ कमन्सका सांसद निजेल इभान्सको नेतृत्वको टोलीले भेटघाट गरेको छ।

नेपाल भ्रमणमा रहेको बेलायती सांसदहरुको प्रमण्डलसँग मंगलबारको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो सरकार आउँदो तीन वर्षभित्र नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट विकासोन्मुख राष्ट्रमा उक्लिने ध्येयमा केन्द्रित रहेको बताए। उनले सबै छिमेकी मित्र राष्ट्रहरुको सहयोग र साथ हासिल गरिने धारणा व्यक्त गरे।

भेटमा प्रधानमन्त्री ओलीले विश्व राजनीतिमा नेपालले तटस्थता कायम राख्ने बताउँदै चीनको ‘वेल्ट एण्ड रोडको योजना’ र भारतको ‘सबैको साथमा सबैको विकास गरिने’ नारा दुवै नेपालको हितमा रहेको धारणा व्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ।

द्वन्द्वकालीन घटनाहरुका सम्बन्धमा प्रतिनिधिमण्डलले राखेको जिज्ञासाको जवाफमा प्रधानमन्त्री ओलीले नेपालको कानून र शान्ति प्रक्रियासँग सम्बन्धित दुई आयोगले संक्रमणकालीन न्यायलाई टुंग्याउने विश्वास दिलाए।

उनले द्वन्द्वको दुवै पक्षमध्येका जोसुकै भए पनि मानवअधिकार तथा मानवीय कानूनको गम्भीर उल्लंघन गर्नेहरुलाई क्षमादान नदिइने प्रष्ट पारेकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

नेपाल भाषिक र सांस्कृतिक विविधताले भरिपूर्ण धर्म निरपेक्ष देश भएकाले कुनै पनि धर्म, संस्कृति अँगाल्नेप्रति राज्यले भेदभावको नीति अंगीकार नगरेको उनले प्रष्ट पारे।

संविधानका ३१ वटा धारामा मौलिक हकहरुको व्यवस्था गरिएको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचित निकायमा ४१ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको उल्लेख गरे।