उदघाटन र शिलान्यासका कार्यक्रममा व्यस्त प्रधानमन्त्री ओली, आज झापा र मोरङ जाँदै

उदघाटन र शिलान्यासका कार्यक्रममा व्यस्त प्रधानमन्त्री ओली, आज झापा र मोरङ जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङका दुई छुट्टा छुट्टै कार्यक्रममा सहभागी हुने भएका छन् ।

दुई दिन अघि आइतबारमात्रै झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका प्रधानमन्त्री ओली आज फेरी झापा जान लागेका हुन् । उनी काठमाण्डुबाट यति एयरलाइन्सको दोस्रो फ्लाइटबाट भद्रपुर ओर्लनेछन् ।

विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली आज झापा जान लागेको उनको सचिवालयले जनाएको छ ।

साथै प्रधानमन्त्री ओलीले विर्तामोड नगरपालिका–७ मा विपन्न परिवारका लागि निर्मित एकीकृत वस्ती पनि उदघाटन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै विर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीका अनुसार प्रधानमन्त्री ओलीले ३५ परिवारलाई घर हस्तान्तरण गर्ने छन् ।

झापापछि प्रधानमन्त्री ओली मोरङको उर्लाबारी जाने कार्यक्रम छ । उर्लाबारीमा सन्थाल जातीको एकीकृत बस्ती शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

संसद पुनर्स्थापनापछि आफू झन् बलियो बनेको बताउँदै आइरहेका प्रधानमन्त्री ओली अहिले देश दौडाहामा व्यस्त छन् । हिजो मात्रै प्रधानमन्त्री ओली पोखराका बिभिन्न कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।

उनी उदघाटन, शिलान्यासलगायतका कार्यक्रम व्यस्त हुने गरेका छन् । गृह जिल्ला झापा र मोरङको कार्यक्रममा सहभागी भई प्रधानमन्त्री ओली आजै साँझ काठमाण्डु फर्किने नेकपा झापाका नेता शिव ढुङ्गेलले जानकारी दिए ।