कोरोनाको ग्राफ बढ्दै, लकडाउन गर्ने प्रधानमन्त्री ओलीको संकेत

कोरोनाको ग्राफ बढ्दै, लकडाउन गर्ने प्रधानमन्त्री ओलीको संकेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः लकडाउन हुन सक्ने बताएका छन् ।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीको सामना गरिरहेका राष्ट्रहरुले पनि लकडाउन गरेकाले नेपालमा पनि त्यस्तो अवस्था आउन सक्ने बताएका छन् ।

‘लकडाउन गर्नै हुदैन भन्ने देशहरु दोहोर्याएर तेहर्याएर लकडाउनमा जाँदैछन् । हामीले पनि समयमै सचेतनता , सावधानी अपनाएनौ भने फेरि हामी लकडाउनमा पुग्दैनौ भन्ने कुनै ग्यारेन्टी हुँदैन’, उनले भने, ‘हामी आफै घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा हुन्छौ किनभने ज्यान खतरामा हुन्छ ।’

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढिरहेको छ । देशभर पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ५३२ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप १५१ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ८८६ पुगेको छ । निको हुने दर भने ९७ दशमलव नौ प्रतिशत रहेको छ ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८०० रहेको छ । उनीहरुमध्ये ८४ जना क्वारेन्टिनमा र अन्य आइसोलेसनमा रहेका छन् ।

हालसम्म नेपालमा २३ लाख नौ हजार ७७६ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।