काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल हेरफेर गर्दैछन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर सरकारमा रहने र हट्ने मन्त्रीहरुको नाम तयार गरिसकेका छन् । नयाँ मन्त्रीलाई आजै शपथ खुवाउने प्रधानमन्त्रीले तयारी गरेका छन् ।
प्रधानमन्त्री ओलीले पुराना मन्त्रीको मन्त्रालय पनि हेरफेर गर्ने भएका छन् । उनले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका रघुवीर महासेठलाई हटाएर कार्यसम्पादन राम्रो भएका सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई उक्त मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् ।
त्यस्तै खानेपानी मन्त्री विना मगरलाई खानेपानी मन्त्रालयबाट अन्य मन्त्रालयमा स्थानान्तरण गर्ने तयारी अोलीको छ । प्रधानमन्त्री ओली मन्त्री मगरको कामबाट सन्तुष्ट छैनन् । उनले मेलम्ची आयोजनाको कामलाई तिव्ररुपमा अगाडि बढाउन नसकेको भन्दै प्रचण्डसँग ओलीले छलफलसमेत गरेका थिए । मगरलाई कुन मन्त्रालय दिने भन्ने खुलेको छैन् । अन्य मन्त्रीहरु यथावत रहने सम्भावना छ ।
बिदा हुने मन्त्रीहरुमा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा, भौतिकमन्त्री रघुविर महासेठ, भुमिसुधारमन्त्री पद्मा अर्याल रहेका छन् ।
यस्तै कृषि राज्यमन्त्री रामकुमारी चौधरी र पर्यटन राज्यमन्त्री धनबहादुर बुढा पनि हटाइने सूचीमा परेका छन् । उद्योग मन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणी खनालले आफूहरु हट्ने निश्चित रहेको बताएका छन् । उनीहरु मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमासमेत सहभागी भएका थिएनन् ।




प्रतिक्रिया